धनगढीः डोटीको प्रसिद्ध धार्मिक तथा सांस्कृतिक बडीकेदार मेलामा सहभागी हुन चाहने धनगढीवासीका लागि धनगढी उपमहानगरपालिकाले निःशुल्क बसको व्यवस्था गर्ने भएको छ । उपमहानगरपालिकाले मेलामा सहभागी हुन जाने नगरवासीका लागि पाँचवटा बस सञ्चालन गर्न लागेको हो ।

बस मंसिर ६ गते बिहान ११ बजे धनगढीबाट बडीकेदार मेलाका लागि प्रस्थान गर्नेछन् भने मंसिर ७ गते धनगढी फर्किने कार्यक्रम रहेको छ । मेलामा सहभागी हुन इच्छुक धनगढीवासीले मंसिर ४ गते अपराह्न ४ बजेसम्म आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।
यस्तै, नगर प्रमुख गोपाल हमालले नगरवासीलाई बडीकेदार मेलामा सहभागी हुन आग्रह गरेका छन् । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको मेलामा सहज रूपमा सहभागी हुन सकून् भन्ने उद्देश्यले निःशुल्क यातायातको व्यवस्था गरिएको उनले बताएका छन् । बसमा सीट सिमित भएकाले पहिले नाम दर्ता गराउनेलाई प्राथमिकता दिइने उनले बताएका छन् ।
उपमहानगरपालिकाको यस व्यवस्थाले बडीकेदार मेलामा सहभागी हुन चाहने नगरवासीलाई आवतजावतमा सहजता पुग्ने अपेक्षा गरिएको छ ।