अत्तरिया : कैलालीको अत्तरियामा स्वास्थ्य युवा महोत्सव २०८३ सुरु भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले बुधबार महोत्सवको उद्घाटन गरेका हुन् । गोदावरी चेम्बर अफ कमर्स, कैलाली चेम्बर अफ कमर्स र सुदूरपश्चिम प्रदेश चेम्बर अफ कमर्सको संयुक्त आयोजनामा अत्तरियास्थित पार्टनर प्यालेसमा महोत्सव सञ्चालन भइरहेको हो ।
महोत्सवको उद्घाटन कार्यक्रममा संघीय प्रतिनिधिसभा सदस्य रमेश प्रसाई, सुदूरपश्चिम प्रदेशसभा सदस्य खेमादेवी विष्टलगायतको उपस्थिति रहेको थियो ।महोत्सवमा अनुभवी तथा विशेषज्ञ चिकित्सकहरूबाट सर्वसाधारणको स्वास्थ्य परीक्षण भइरहेको छ । महोत्सवमा पाठेघरको जाँच, आँखा जाँच, दाँत जाँचलगायत विभिन्न स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ ।
आर्थिक अवस्था कमजोर भएका तथा स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई लक्षित गरी आयोजना गरिएको महोत्सव मंसिर ६ गतेसम्म सञ्चालन हुनेछ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले स्वास्थ्य युवा महोत्सव निकै महत्त्वपूर्ण र नयाँ प्रयास भएको बताए । यसअघि विभिन्न साहित्यिक तथा अन्य महोत्सवहरू आयोजना हुँदै आए पनि स्वास्थ्यलाई केन्द्रमा राखेर आयोजना गरिएको यो कार्यक्रम फरक र सकारात्मक पहल भएको उनको भनाइ थियो ।

उनले महोत्सवबाट प्राप्त हुने निष्कर्ष तथा सुझाव प्रदेश सरकारलाई बुझाउन आग्रह गर्दै प्राप्त सुझाव र निष्कर्ष कार्यान्वयन गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
त्यस्तै, प्रतिनिधिसभा सदस्य प्रसाईले चेम्बर अफ कमर्सले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर गरेको नयाँ प्रयासको स्वागत तथा प्रशंसा गरे । विभिन्न कार्यक्रममा सहभागी हुँदै आए पनि यस महोत्सवमा सहभागी हुँदा आफूले फरकपन महसुस गरेको उनले बताए । उनले यस्ता कार्यक्रमले नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने उल्लेख गरे ।
प्रदेशसभा सदस्य खेमादेवी विष्टले पनि आर्थिक अवस्था कमजोर भएका नागरिकका लागि स्वास्थ्य युवा महोत्सव निकै महत्त्वपूर्ण हुने बताइन् । स्वास्थ्य परीक्षणका लागि सहज पहुँच नपाएका नागरिकले एउटै स्थानबाट विभिन्न स्वास्थ्य सेवा लिन पाउनु महोत्सवको सकारात्मक पक्ष भएको उनको भनाइ थियो।
आयोजकका अनुसार महोत्सवले नागरिकमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै समयमै स्वास्थ्य परीक्षण गराउने बानीको विकास गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।