काठमाडौं : नेकपा एमालेको ‘समृद्धिका लागि संकल्प यात्रा’को पाँचौ दिन आज दैलेख र सुर्खेतमा कार्यक्रम हुँदैछ।
पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको यात्रा ७१ किलोमिटर मात्र रहेको छ। हिजो अछामको मंगलसेनदेखि दैलेख बजारसम्म १ सय ५४ किलोमिटरको यात्रा तय गरिएको थियो।
आज दैलेखमा पेट्रोलियम पदार्थको उत्खनन् स्थलको अवलोकन, नाभिस्थान र शिरस्थानको अवलोकन तथा स्थानीयबासीन्दासँग छलफलको कार्यक्रम रहेको छ।
चुप्रा डुंगेश्वर र माथिल्लो डुंगेश्वरमा पनि जनतासँग भेटघाट कार्यक्रम राखिएको गौतमले बताए। यसैगरी अध्यक्ष केपी शर्मा ओलीले दैलेखकै गुराँस गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने र सोही स्थानमा यात्रा टोलीले खाना खाने कार्यक्रम छ। त्यसपछि टोली सुर्खेत प्रवेश गर्नेछ।
सुर्खेतको वीरेन्द्रनगरबाट करिब २० किलोमिटर उत्तरी क्षेत्रबाट सुर्खेतले यात्रा टोलीलाई स्वागत गर्ने कार्यक्रम रहेको छ। वीरेन्द्रनगरमा दिउसो ३ बजे आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने र प्रशिद्ध पर्यटकीय स्थल काँक्रेबिहारको अवलोकन गर्ने कार्यक्रम तय गरिएको केन्द्रीय सदस्य एवं वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले जानकारी दिइन्।