सुखड : धनगढी नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयन गर्न निर्वाचन प्रक्रिया सुरू भएकाे छ । जिल्ला निर्वाचन कमिटीले मतदाता नामावली प्रकाशन, दाबी विराेध लगायतका सूचना जारी गर्दै प्रक्रिया सुरू गरेकाे छ ।
आज साँझ ५ बजे मतदाताकाे अन्तिम नामावली प्रकाशन गरेर उम्मेदवार फारम वितरणकाे प्रक्रिया अघि बढाइने निर्वाचन कमिटीले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ । ७ बजे उम्मेदवारकाे नामावली प्रकाशन गरेर उजुरी तथा दाबी विराेधकाे काम सकेर राति सवा १० बजे अन्तिम नामावली प्रकाशन गरिने निर्वाचन कमिटीले जनाएको छ । भाेलि बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानकाे कार्यतालिका तय गरिएको छ ।
एमाले कैलालीमा सहमतिमै नेतृत्व चयन गर्ने नेताहरूकाे प्रयासले सार्थकता नपाएपछि निर्वाचन प्रक्रिया अघि बढाइएको हाे तर याे बीचमा समेत सहमतिकाे प्रयास जारी राख्ने नेताहरू बताउँछन् । अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जाेशीले प्यानलसहित उम्मेदवारी घाेषणा गरिसकेका छन् ।
अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुंगानाले भने उम्मेदवारी घाेषणा गरेका छैनन् ।
आइतबारबाट कैलालीको नबौ जिल्ला अधिबेशन शुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । सर्वसम्मतबाट नेतृत्व चयनको बिषयमा नेताहरू बिच सहमतिको प्रयास जारी रहेपनि सहमति भने हुन सकेन् । सहमति जुट्न नसकेपछि चुनावि प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो ।
