अत्तरिया : नेकपा एमाले कैलालीको जिल्ला अधिवेशन थप लम्बिने भएको छ ।
अधिवेशन आइतबारदेखि सोमबारसम्म चल्ने भनिएपनि एक दिन ढिलोगरि मंगलबार (आज) दिउँसो २ बजेपछि मात्र निर्वाचन कमिटीले प्रक्रिया अघि बढाएको थियो तर प्राविधिक कारण देखाउँदै बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि भन्दै सबै प्रक्रिया रोकिएको छ ।
प्राविधिक कारणले भोली बिहान ८ बजे सम्मलाई निर्वाचन प्रक्रिया स्थगित गरिएको प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले बताए । यसअघि निर्वाचन कमिटिले राति सवा १० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर बुधबार बिहान १० देखि दिउँसो २ बजेसम्म मतदानको समय तोकेको थियो ।
तर उक्त तालिकालाई थाति राखेर निर्वाचन प्रक्रिया नै स्थगित गरिएको हो । जसका कारण अधिवेशन केही दिन थप लम्बिने देखिएको छ । अधिवेशन उद्घाटन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आइतबार रातभरि सहमतिको प्रयास गर्न नभए सोमबार बिहानैदेखि निर्वाचन प्रक्रियामार्फत अघि बढ्न भनेका थिए ।
तर नेताहरूले सहमतिको प्रयास भइरहेको भन्दै निर्वाचन कमिटीलाई भोलिसम्म प्रक्रिया स्थगित गर्न आग्रह गरेका हुन् । अध्यक्षसहितका पाँच पदाधिकारी समेतका १५२ सदस्यीय जिल्ला कमिटि चयन गर्न ५९१ जना प्रतिनिधिले मतदान गर्ने छन् ।
अहिलेका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् भने अध्यक्षका आकांक्षी डेजी पाण्डे र यज्ञराज ढुंगाना नेताहरूसँग छलफलमै छन् ।
जोशीले प्यानलसहित उम्मेदवारी घोषणा गरेपनि सहमतिमै नेतृत्व चयन गर्न छलफल भइरहेको नेताहरू बताउँछन् ।