सुखड : नेकपा एमाले कैलाली जिल्ला अधिवेशनको चौथो दिन आज मतदान हुने भएको छ । आज २ बजे देखी मतदान हुने प्रमुख निर्वाचन अधिकृत मानबहादुर जोराले जानकारी दिए ।
यस अघि सार्वजनिक गरिएको निर्वाचन तालिकामा १० बजे देखी मतदानको समय निर्धारण गरिएको थियो । तर, प्राविधिक तयारी नभएको भन्दै हिजै राति आज बिहान सम्मको लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको थियो ।
अहिले बिहान अर्काे तालिका जारी गर्दै दिउसो २ बजे देखी ५ बजे सम्म मतदान हुने बताइएको छ । मतदाताको अन्तिम नामावली प्रकाशन गरेर अहिले उम्मेदवारी दर्ता भइरहेको प्रमुख निर्वाचन अधिकृत जोराले बताए ।
तर तालिका अनुसार अहिलेपनि कार्य अगाडि नबढाईएको अधिवेशनमा सहभागी प्रतिनिधिहरुले बताएका छन् । कार्यतालिका एकातिर काम एकातिर भईरहेको उनिहरुको गुनासो छ ।
अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी र डेजी पाण्डेले दाबी गरिरहेका छन् । जोशीले आफ्नो टिम नै सार्वजनिक गरिसके भने अन्य उम्मेदवारहरूले भने टिम औपचारिक रुपमा सार्वजनिक गरेका छैनन् ।
आइतबार एमाले अध्यक्ष केपी शर्मा ओलीले कैलाली जिल्लाको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए ।
सर्वसम्मतबाट नेतृत्व चयनको बिषयमा नेताहरू बिच सहमतिको प्रयास जारी रहेपनि सहमति भने हुन सकेन् । सहमति जुट्न नसकेपछि चुनावि प्रक्रियाबाट नेतृत्व चयन हुने भएको हो ।