धनगढीमा यो बर्ष २९० जना अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क सहायता सामग्री वितरण गरिने

धनगढी : धनगढी उपमहानगरपालिकाले यो वर्ष पनि अपाङ्गता भएका व्यक्तिलाई नि:शुल्क सहायता सामग्री वितरण गर्ने भएको छ। गत वर्ष १८९ जनालाई सहायता सामग्री वितरण गरेको उपमहानगरले यो वर्ष भने २९० जनालाई सामग्री वितरण गर्ने भएको हो ।

नगर क्षेत्रमा बसोबास गर्ने अपाङ्गता भएका व्यक्तिको खोजी गर्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर अपाङ्गता भएका व्यक्तिहरूको पहिचान गरिएको हो । उपमहानगरको वडा नम्बर १८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र फूलबारीमा चैत २१ गते लागेको शिविरमा ६० जनालाई नापजाँच गर्दा ५५ जनालाई अपाङ्गता सामग्री आवश्यक रहेको उपमहानगरले जनाएको छ ।

यस्तै, चैत २९ गते वडा नम्बर १७ को सहरी स्वास्थ्य केन्द्र धुर्जन्नामा लागेको शिविरमा ७० जना, बैशाख ९ गते वडा नम्बर १० को घुइयाँघाट सहरी स्वास्थ्य केन्द्रमा लागेको शिविरमा ४५ जना अपाङ्गता भएका व्यक्ति फेला परेका हुन् । यसैगरी, वडा नम्बर ११ को घोड्सुवा सहरी स्वास्थ्य केन्द्रमा बैशाख १० गते लागेको शिविरमा ३५ तथा बैशाख १२ गते नगरपालिका परिसरमा लागेको शिविरबाट ८५ जना अपाङ्गता भएका व्यक्ति पत्ता लागेका हुन् ।

स्क्रिनिङ शिविरमा पत्ता लागेका अपाङ्गता भएका व्यक्तिहरूलाई असार १५ भित्र सहायता सामग्री वितरण गरिसक्ने महिला विकास अधिकृत पंकजा जोशीले बताइन् । उनले अपाङ्गता भएका व्यक्ति शिविर लागेको ठाउँमा आउन समस्या हुने ठानेर धनगढीको विभिन्न पाँच ठाउँमा शिविर लगाउने गरेको बताइन् ।

गत वर्ष पनि धनगढीका १७९ जना अपाङ्गता भएका व्यक्तिलाई २०५ किसिमका सहायता सामग्री नि:शुल्क वितरण गरिएको महिला विकास अधिकृत पंकजा जोशीले बताइन् । ” गत वर्ष १७९ जनालाई २०५ किसिमका सहायता सामग्री वितरण गरिएको थियो। सहायता सामग्री वितरण गर्न ३२ लाख खर्च भएको थियो । यो वर्ष पनि सहायता सामग्री वितरण गर्न विभिन्न पाँच ठाउँमा स्क्रिनिङ्ग शिविर राखेर नापजाँच गरिएको हो,” महिला विकास अधिकृत जोशीले भनिन् ।

यो वर्ष स्वीकृत वार्षिक कार्यक्रममा १८ लाख बजेट विनियोजन गरिएकोमा धनगढीको सर्वाङ्गिण अपाङ्गता विकास समाजले अपाङ्गता सहायता सामग्री वितरण गर्न ९ लाखमा टेण्डर पाएको हो। यो वर्ष शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई ह्विलचेयर, बैसाखीसहित चस्मा तथा कान नसुन्ने व्यक्तिलाई समेत सहायता सामग्री प्रदान गरिने भएको छ ।

बजेट अपुग भएको अवस्थामा स्क्रिनिङ्ग गरिएका सम्पूर्ण व्यक्तिलाई सहायता सामग्री दिन समस्या नहुने उपमहानगरले जनाएको छ । सबै किसिमका अपाङ्गता भएका व्यक्तिलाई खोजीखोजी सहायता सामग्री वितरण गर्ने उपमहानगरपालिकाको नीति रहेको महिला विकास अधिकृत जोशीले बताइन् ।

Deep Jyoti Pustak psl
Loading...