खेतबारीमा रासायनिक मल हाल्न पहिलोपटक ड्रोन प्रविधि प्रयोग

धनगढी  : युटुव तथा सामाजिक सञ्जालमार्फत् विदेशमा खेतबारीमा मल तथा विषादी प्रयोग गर्न ड्रोन प्रयोग गरेको देखेका बेलौरी–६, रिछाहा कञ्चनपुरका किसान खडक चौधरी भने आफ्नै बारीमा ड्रोनबाट युरिया मल छर्किदिएको देख्दा मख्ख थिए । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रद्वारा परीक्षण गर्न खडकको एक बिघा जमिनमा रोपिएको मकैमा ड्रोनमार्फत् युरिया मल छर्किएको हो ।
युटुवमार्फत् विदेशमा ड्रोनबाट मल तथा विषादी हालिएको देखेको बताउँदै चौधरीले भने,‘आज मेरै जमिनमा लगाइएको मकैमा युरिया मल ड्रोनबाट हालिएको छ ।’ एक विघा जमिनमा लगाइएको दश पाते भइसकेको मकैको बोटमा मान्छे लगाएर युरिया मल हाल्दा दुर्ई दिन लाग्ने गरे पनि ड्रोनबाट युरिया छर्किदा ६ मिनेट ४० सेकेण्डमै सकिएको उनले बताए । उनले भने,‘एक बिघा जमिनमा यति चाँडै मल छर्किन सकिने यो प्रविधिले कृषकलाई हौसला थपिएको छ ।’
ड्रोनबाट विषादी तथा मल छर्किदा मानव स्वास्थ्यमा जोखिम नहुने बताउँदै बेलौरी बहुउद्देश्यीय कृषि सहकारी संस्थाका अध्यक्ष सन्तोष चौधरीले भने,‘किसान आफैले विषादी तथा मल छर्कदा त्यसको असर खेतबारीमा छर्कने किसानको स्वाथ्यमा प्रत्यक्ष पर्न जान्छ । तर, ड्रोन प्रयोग गर्दा त्यो असरै नपर्ने भयो ।’ मानव स्वास्थ्यका लागि पनि ड्रोन प्रविधि अति उपयुक्त रहेको उनी बताउँछन् । ‘मानिसको कद भन्दा अग्ला बाली तथा बोटविरुवामा विषादी तथा रासायनिक मल छर्कन मान्छेको हातले नभ्याउने हुन्छ,’ उनले भने,‘अग्ला बालीहरुमा त ड्रोन अति नै उपयुक्त हुँदो रहेछ ।’
ड्रोन प्रयोग गर्दा समय कम लाग्ने, स्वास्थ्यमा असर नहुने तथा कम मल तथा विषादी लाग्ने गरेको उनी बताउँछन् । विदेशतिर मात्रै देखिएको यो प्रविधिलाई नेपालमा किसानको सहज पहुँचमा पुगाउन सकेमा कृषितर्फ युवाहरु आकर्षित हुन सक्ने उनी बताउँछन् । ‘त्यही प्रविधिसँग विदेशमा यहाँका युवा कृषि क्षेत्रमा काम गर्दै आएका छन्,’ उनले भने,‘त्यही प्रविधि नेपालमा भएमा विदेशमा सिकेको सीपलाई स्वदेश फर्केका युवाहरु यहीँ कृषिमा आकर्षित हुन सक्छन् ।’
नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाहरुमा ड्रोनबाट वसन्ते मकै बालीमा झोलवाला युरिया मल छर्केर परीक्षण सुरु गरेको हो । कञ्चनपुरको पुनर्वास र बैलौरी नगरपालिकामा लगाइएको बसन्ते मकै बालीमा ड्रोनको माध्यमले झोलवाला युरिया मल छर्किएर प्रविधि परीक्षण गरिएको हो । ड्रोनबाट युरिया तथा विषादी हाल्दा कुनै पनि बोट विरुवा नछुट्ने र स्वयम् व्यक्तिले हाल्दा हुने जोखिम पनि घटाउने अपेक्षा गरेको किसान बताउँछन् ।
ड्रोनमा रासायनिक मल हाल्ने १६ लिटर क्षमताको ट्याङ्की जडान गरिएको बताउँदै राष्ट्रिय माटो विज्ञान अनुसन्धान केन्द्रका प्रमुख डाक्टर श्रीप्रसाद विष्टले भने,‘ड्रोनको माध्यमले एक विगाह क्षेत्रफलमा विषादी छर्किनका लागि ६ देखि १० मिनेटसम्म समय लाग्छ । यो प्रविधिमार्फत् विषादी छर्किदा ९० प्रतिशत प्रभावकारिता बढ्नुका साथै ३० प्रतिशत लागतमा पनि कमी हुने गर्छ ।’
रासायनिक मलका कारणले माटो र पानीलाई असर गरिरहेको अवस्थामा झोलवाला रासायनिक मल ड्रोनबाट प्रयोग गर्दा वातावरणमैत्री हुनुका साथै कम लागतमा बढी फाइदा हुने गरेको उनी बताउँछन् । ‘झोलवाला युरिया ड्रोनमार्फत बालीको माथिबाट छर्किने भएकाले माटो र पानीलाई कुनै असर नपर्ने बिष्टले बताए ।
ड्रोनबाट युरिया मल छर्किने प्रविधि कञ्चनपुर हुदै कैलाली, बर्दिया बाँके, दाङ र कपिलवस्तु जिल्लाका विभिन्न पालिकामा परीक्षण गरिने बताइएको छ । यस अवधिमा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका ४ सय किसानका ६ सय बिघा क्षेत्रफलमा लगाइएको बसन्ते मकैमा ड्रोनबाट झोलवाला युरिया मल छर्किने बिष्टले बताए ।
Loading...