धनगढी : सुदूरपश्चिममा बनेका दुनाटपरीको बजारीकरण गर्ने एक टोली पोखरा पुगेको छ।

दुनाटपरीको बजारीकरण गर्न पोखरा पुगेको टोलीलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले सुदूरपश्चिममा बनेका दुनाटपरी गण्डकीमा बजारीकरणका लागि सहजीकरण गर्ने बताएका छन्।
सुदूरपश्चिमबाट दुनाटपरीको बजारीकरण तथा अवलोकन भ्रमणका लागि पोखरा पुगेको वनदेवी सामुदायिक वन उपभोक्ता समिति कृष्णपुर नगरपालिका–९ राजघाट, कञ्चनपुरको टोलीले प्रदेश प्रमुखसँग भेट गरेर सहयोगका लागि अनुरोध गरेको थियो।
टोलीमा सुदूरपश्चिम प्रदेशका पूर्व प्रदेशसभा सदस्यसमेत रहेका सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी, वनदेवी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष निरज भण्डारी, दुनाटपरी उत्पादन समूहकी संयोजक फूलकुमारी चौधरीसहित सदस्यहरूले प्रदेश प्रमुखलाई भेटेका हुन्।