धनगढी : कैलाली र कञ्चनपुरबाट एकै दिन १४ जना फरार दोषी पक्राउ परेका छन्।
कैलालीबाट पक्राउ पर्नेमा चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएकी गौरीगंगा नगरपालिका–७ बस्ने ४२ वर्षीया सुस्मा देवी, वन मुद्दामा २५ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–४ बस्ने ४२ वर्षीय प्रेम सिंह, सोही मुद्दामा २५ हजार जरिवाना ठहर भएका गोदावरी नगरपालिका–४ बस्ने ६७ वर्षीय धोजराज भट्टराई, चोरी मुद्दामा १ लाख ७० हजार जरीवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने २८ वर्षीय रामभजन राना रहेका छन्।
यस्तै गाली बेईज्जत मुद्दामा २ हजार जरिवाना ठहर भएका धनगढी उपमहानगरपालिका–६ बस्ने ६८ वर्षीय रामबहादुर बोगटी, चेक अनादर मुद्दामा ५ सय जरिवाना ठहर भएका गोदावरी नगरपालिका–९ बस्ने ३४ वर्षीय दिर्घ पार्की र चेक अनादर मुद्दामा १ हजार जरिवाना ठहर भएका टिकापुर नगरपालिका–१ बस्ने ५२ वर्षीय तपेन्द्रबहादुर शाह रहेका छन्।

जिल्ला अदालत कैलालीको फरक–फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि सातै जना फरार रहेका थिए। फरार सातैै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले बताए।
यसैगरी कञ्चनपुर प्रहरीले पनि ७ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ। जग्गा अतिक्रमण मुद्दामा ३ हजार जरिवाना ठहर भएकी बेदकोट नगरपालिका–७ बस्ने ५० वर्षीया हिरा भट्ट, वन मुद्दामा १५ दिन कैद सजाय १८ हजार ८१५ जरिवाना ठहर भएका पुनर्वास नगरपालिका–११ बस्ने ६९ वर्षीय चित्रबहादुर थापा रहेका छन्।
यस्तै वन मुद्दामा नै १५ दिन कैद सजाय र १८ हजार ८१५ जरिवाना ठहर भएका नगरपालिका–११ बस्ने ७३ वर्षीय जगतराम चौधरी, जालसाची मुद्दामा १ हजार ५ सय जरिवाना ठहर भएकी कृष्णपुर नगरपालिका–७ बस्ने ४५ वर्षीया प्रेमवती राना, कुटपिट मुद्दामा जनही १५० का दरले जरिवाना ठहर भएका भीमदत्त नगरपालिका–७ हल्दुखाल बस्ने ४० वर्षीया चन्द्रा देवी धामी, २५ वर्षीय मोहन र ३५ वर्षीया भुरीदेवी धामी पक्राउ परेका छन्।
जिल्ला अदालत कञ्चनपुरको फरक–फरक मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भएपछि सातै जना फरार रहेका थिए। फरार सातै जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए। दुबै जिल्लाबाट पक्राउ परेका १४ जनालाई सम्बन्धित जिल्लाको अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।