अत्तरिया : कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आयोजित बाल भेलामा बालबालिकाहरूले १८ वटा सवाल उठान गरेका छन् ।
भेलामा बालबालिकाहरूले नगरपालिकाले बालबालिका सँग सम्बन्धित बालविवाह न्यूनीकरण, लागूपदार्थ दुव्र्यसनी न्यूनीकरण खेल मैदानको आवश्यकता लगायतका १८ सवाल उठान गरेका हुन ।

बाल भेलामा बालबालिकाले उठान गरेका १८ मुद्दालाई प्राथमिकरणका आधारमा अंक दिएर नगर उपप्रमुख द्रोपती रानालाई हस्तान्तरण गरेका थिए । जसमा बालबालिकाहरूले पहिलो प्राथमिकतामा बालविवाह, लागूऔषध, खेल मैदान, गुणस्तरीय सेनेटरी प्याडको व्यवस्थापन, छाउपडी प्रथा हटाउने र विद्यालय नजिक भएका मदिरा पसल बन्द गरिनुपर्ने मुद्दालाई बढी प्राथमिकता दिएर काम गरिनुपर्ने उल्लेख गरेका छन् ।
ती सवालहरूको समाधानका लागि पनि बालबालिकाले छलफल गरेर सुझाव संकलन गरेका थिए । वर्ड भिजनको आर्थिक सहयोगमा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसब्लुए) को आयोजनामा सोमबार र मंगलबार सञ्चालन भएको भेलामा बालबालिकाहरूले क्षेत्रमा भएका परिवर्तन, बालबालिकालाई मन पर्ने र नपर्ने कुरा, सुरक्षित र असुरक्षित ठाउँ र नगरमा बालबालिकाका लागि हुनुपर्ने कामका बारेमा छलफल गरिएको थियो ।
छलफलमा उठेका विषयलाई बालबालिकाले चित्र मार्फत प्रस्तुत गरेको एनएनएसब्लुएका बाल संरक्षण अधिकृत गणेश बहादुर भुलले बताए । जसअन्तर्गत बालबालिकाको अवस्थाका बारेमा मानव शरीरको चित्र मार्फत बालबालिकाका पहिलेको अवस्था र विकास भएका पक्ष, मन नपर्ने कुराहरू र मन पर्ने कुराहरूका चित्र, नगरमा हुनुपर्ने कुराको परिकल्पना गरेको चित्र बालबालिकाहरूले कोरेर प्रस्तुत गरेका थिए ।
