अत्तरिया : कैलाली कञ्चनपुरमा झण्डै ४ लाखको अवैध सामान फेला परेको छ । दुबै जिल्लाका विभिन्न स्थानमा अन्दाजी ३ लाख ८७ हजार ८४५ मूल्यको अवैध सामान फेला परेको हो ।

बुधवार कैलालीको धनगढी उपमहानगरपालिका–२ ट्राफिक चौराह नजिक र टीकापुर नगरपालिका–१ मेन्था चोकस्थित भित्रि सडक खण्डबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ६७ हजार २९५ मूल्यको प्याज, चिनी, मिश्री, सुर्ती, बिडी, चक्लेट, धनियाँ, दाल, नमकिन लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको छ ।
त्यस्तै, कञ्चनपुरको भीमदत्त नगरपालिका–५ वनगाउँ चोक, भीमदत्त–९ तिम्लाडी, भीमदत्त–१० विद्युत कार्यालय नजिक, भीमदत्त–११ चौकीसत्ता, बेलौरी नगरपालिका–१ फटैया, बेलौरी–२ टेडुवा, पुनर्वास नगरपालिका–४ ‘घ’ गाउँ र पुनर्वास–११ टाउके बजारबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ३ लाख २० हजार ५५० मूल्यका सामान बरामद गरिएको प्रहरीले बताएको छ ।
पेय पदार्थ, खाने तेल, बिडी, सुर्ती, काजु, बदाम, चक्लेट, नरिवल तेल, पानीपुरी, स्याम्पु, अचार, कट्टु, गन्जी, कपडा, झ्याल ढोकाको पर्दा, साईकलको ट्युव, साइकलको स्टेन्ड, हार्डवेयरका सामान, ब्रोइलर कुखुरा र माछा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत प्रहरी कार्यालयहरुबाट खटिएको गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।