बाजुरा सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा खानेपानीको चरम अभाव भएको छ । लामो समयदेखिको खडेरीका कारण पानीको मुहान सुक्दा खानेपानी अभाव भएको बताइएको छ ।

स्थानीयले एक सातादेखि खानेपानीको अभाव भएको बताएका छन् । पालिकाबाट खानेपानीका लागि बजेट व्यवस्थापन गरिए पनि मार्तडी बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले नियमित रूपमा खानेपानी सञ्चालन गर्न नसकेको आरोप बडीमालिका नगरपालिकाको छ ।

प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले सदरमुकाम मार्तडीमा यत्रतत्र पाइपलाइन छरिएका तथा काटिएको अवस्थामा रहेका र यसको व्यवस्थापन गर्न नसक्नु उपभोक्ता समितिको कमजोरी रहेको बताए ।

खानेपानी व्यवस्थापक कर्णबहादुर रावलले सुक्खा खडेरीले मुहान सुक्दै गएपछि बेलुका र बिहान एक/एक पटक सबैलाई पानी दिने गरेको बताए । उनले समितिले वैकल्पिक स्रोतको पनि खोजी थालेको बताए । सदरमुकाम मार्तडीमा ५५५ वटा धारा छन ।

खानेपानी अभाव भएपछि बालबालिकालाई समयमै विद्यालय पठाउन पनि गाह्रो भएको स्थानीय ललिता विष्टले बताइन् । स्थानीयलाई टाढाको गाउँबस्ती भम्क, थापाबाडा, पानीपाल, बाउलीलगायतका स्थानबाट पानी बोकेर ल्याउनुपर्ने बाध्यता छ ।

Loading...