अत्तरिया : कैलालीको चुरे गाउँपालिकामा ‘अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर कार्यक्रम’ सुरु भएको छ ।
पालिकाले ज्येष्ठ नागरिकहरुका लागि उक्त कार्यक्रम ल्याएको हो । उक्त कार्यक्रम अन्र्तगत शुक्रबार पालिकाको वडा नं. १ मा रहेको निगाली स्वास्थ्य चौकीमा विशेषज्ञ स्वास्थ्य शिविरको आयोजना गरिएको छ ।
शिविरमा करिब २ सय भन्दा बढीले सेवा लिएको पालिकाले जनाएको छ । पालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ कार्यक्रम ल्याईएको बताए ।
उनले उक्त कार्यक्रम अन्र्तगत आयोजना गरिने शिविरहरुमा सहभागी विरामीहरुको चेकजाँच गर्ने तथा औषधी दिने कार्य निःशुल्क हुने बताए । उनले शिविरबाट हुन सक्ने सेवा सुविधाहरु निःशूल्क रुपमा गरिने र जटिल किसिमका समस्याहरुका लागि स्वास्थ्यकर्मीहरुले रिफर गरेको अस्पतालसँग समन्वय गरिने बताए ।
यहाँबाट हुन सक्ने सेवा सुविधाहरु निःशुल्क रुपमा हुने र जटिल किसिमको समस्याको लागि स्वास्थ्यकर्मीहरुले अस्पतालहरुमा रिफर गर्ने बताए । शिविरमा विशेषज्ञ स्वास्थ्यकर्मीहरुबाट उच्च रक्तचाप, मधुमेह, पेट, छाती, मुटु, कलेजो, दम, बाथ लगायतका सामान्य रोगहरुको उपचारका साथै आवश्यक परामर्श र प्रेषण सेवा दिईने बताईएको छ ।

त्यस्तै आँखाका सम्बन्धीका रोगहरुको पहिचान गरी उपचार गर्ने तथा आवश्यक परेको खण्डमा निःशूल्क रुपमा चस्मा पनि दिईने गाउँपालिकाले जनाएको छ । त्यतिमात्रै नभई दातँ तथा गिजाको समस्या पहिचान र उपचार, नाक, कान, घाँटी सम्बन्धी रोगहरुको उपचार पनि शिविरमा हुनेछ ।
त्यसबाहेक औषधी वितरण र ल्याबको सेवालाई पनि निःशुल्क गरिएको गाउँपालिका अध्यक्ष बोगटीले बताए । अध्यक्ष बोगटीले पछिल्लो समय तरकारीहरुमा विषादीको मात्रा बढेकाले नै विभिन्न किसिमका रोगहरु लागिरहेको बताए ।
उनले बढी उत्पादन गर्ने सोचका साथ गरिने विषादीको प्रयोगले स्वास्थ्यमा नराम्रो असर पर्ने भएकाले तरकारीजन्य उत्पादनमा विषादी प्रयोग गर्न नहुने बताए । उनले आफ्नै बारीमा उत्पादन गरिने अर्गानिक वस्तुहरु खाए स्वस्थ रहन सकिने बताए ।
पालिकाले ‘अध्यक्ष ज्येष्ठ नागरिक स्वास्थ्य उपचार तथा शिविर कार्यक्रम’ का लागि चालु आर्थिक वर्षमा ७ लाख रुपैया विनियोजन गरेको थियो । उक्त रकमबाट विरामीहरुको औषधी उपचार तथा डाक्टरहरुलाई पारिश्रमिक दिने काम गरिने अध्यक्ष बोगटीले बताए ।
अध्यक्ष बोगटीका अनुसार पालिकाका ६ वटा स्थानमा स्वास्थ्य शिविरहरु सञ्चालन हुनेछन । जसमध्ये शुक्रबार वडा नं. १ मा रहेको निगाली स्वास्थ्य चौकीमा शिविर आयोजना भैसकेको छ भने शनिबार वडा नं. ६ मा रहेको शान्तीनगर सामुदायिक स्वास्थ्य इकाईमा शिविर आयोजना गरिनेछ ।
त्यसपश्चात जेठ ४ गते वडा नं. ५ मा रहेको खानीडाँडा सामुदायिक स्वास्थ्य इकाईमा, ५ गते वडा नं. ३ मा रहेको सहजपुर स्वास्थ्य चौकीमा, ११ गते वडा नं. २ मा रहेको खैराला स्वास्थ्य चौकी र १२ गते वडा नं. ४ मा रहेको गर्भा सामुदायिक स्वास्थ्य इकाईमा शिविर आयोजना हुने पालिकाले जनाएको छ ।