अत्तरिया : कञ्चनपुरको कृष्णपुरमा अपाङ्गता भएका महिलाहरूको सवाल र अधिकारको लागि स्थानीय तह र सरोकारवाला निकायहरूको भूमिका सम्बन्धी कार्यशाला गोष्ठी आयोजना गरिएको छ ।
पहिचान नेपालले उमन फाउण्ड एसियाको सहयोग र सफल नेपाल सँगको सहकार्यमा २ दिने कार्यशाला गोष्ठी आयोजना गरेको हो । मङ्गलवार र बुधवार सञ्चालित गोष्ठीमा अपाङ्गता भएका महिलाका सवाल र अधिकारका विषयमा छलफल भएको पहिचान नेपालकी अध्यक्ष इच्छा केसीले बताइन् ।

कृष्णपुर नगरपालिकाको स्वास्थ्य चौकीको हलमा सञ्चालन भएको दुई दिने कार्यक्रममा अपाङ्गता भएका महिलाहरूलाई यौन प्रजनन स्वास्थ्य सम्बन्धी पनि प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा सहभागी मनीषा रानाले अझै पनि अपाङ्गता भएकाहरूको स्वास्थ्य जोखिममा रहेकाले त्यसमा नगरपालिकाले ध्यान दिन आवश्यक रहेको बताइन् ।
बुधवार आयोजना गरिएको समापन कार्यक्रममा बोल्दै सफल नेपालकी अध्यक्ष रुपा राईले अझै पनि अपाङ्गता भएका बालबालिका पढ्नबाट समेत वञ्चित भएकाले त्यस्ता बालबालिकाको जिम्मा पालिकाले लिनुपर्ने बताइन् ।
कार्यक्रममा बोल्दै राष्ट्रिय अपाङ्ग महासङ्घका केन्द्रीय सदस्य मान बहादुर साउँदले सुदूरपश्चिममा मात्रै ७० हजार ८ जना अपाङ्गता भएका मानिस रहेकाले उनीहरूको अधिकारका लागि राज्यले विशेष ध्यान दिनुपर्ने बताए ।
समापन कार्यक्रममा प्रमुख अतिथि रहेकी कृष्णपुर नगरपालिकाकी उपप्रमुख द्रोपती रानाले अपाङ्गता भएका क्षेत्रमा पालिकाले धेरै काम गर्ने प्रयास गरे पनि त्यो पर्याप्त नभएको महसुस आफूहरूले गरेको बताइन् । उनले पालिकामा भएका अपाङ्गता भएकाहरूलाई ह्विलचियर लगायतका सामग्री वितरण गर्ने काम गरिरहेको बताइन् ।