कैलालीको अत्तरियामा प्रदेश स्तरिय पुस्तकालयहरूको सम्मेलन सुरु
मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले गरे उद्घाटन
अत्तरिया : कैलालीको अत्तरियामा सुदूरपश्चिम प्रदेश स्तरीय सामुदायिक पुस्तकालयहरूको प्रथम प्रादेशिक सम्मेलन सुरु भएको छ । सम्मेलनको आज (शुक्रवार) एक कार्यक्रमका बिच सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री दिर्घ बहादुर सोडारीले उद्घाटन गरेका छन् ।
दुई दिन सम्म सञ्चालन हुने सम्मेलनमा सुदूरपश्चिम प्रदेश भरिका ९ वटै जिल्लाका पुस्तकालयका प्रतिनिधिको सहभागिता रहेको प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीले बताए । उनले सम्मेलनमा सामुदायिक पुस्तकालयमा समस्या, चुनौती र समाधानका उपायका बारेमा छलफल गरिने बताएका छन् ।
सम्मेलनमा प्रतिभा पुस्तकालयको तर्फबाट कार्यपत्र प्रस्तुत गरिने भएको छ । प्रतिभा सामुदायिक पुस्तकालयको आयोजनामा सुरु भएको सम्मेलनलाई सुदूरपश्चिम प्रज्ञा-प्रतिष्ठान, सामाजिक विकास मन्त्रालय, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल सामुदायिक पुस्तकालय संघले सहयोग गरेका छन् ।
सम्मेलनको उद्घाटन सत्रमा सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका कुलपति टिएन जोशी, गोदावरी नगरपालिकाकी उपप्रमुख शारदा रोकाया लगायत विभिन्न पुस्तकालयका प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न, कला संस्कृति झल्कने झाकी, नृत्य, बाजाहरू प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
