अत्तरिया : कैलालीको अत्तरिया बजार महिनामा दुईदिन बन्द गर्न हस्ताक्षर अभियान सञ्चालन गरिएको छ । महिनाको दुईदिन १५ र २८ गते बजार बन्द गर्ने भनि अत्तरिया उद्योग बाणिज्य संघले निर्णय गरेको थियो । तर अत्तरियाका केहि व्यापारीहरुले उक्त निर्णय नमानेर पसल खोल्ने गरेका थिए ।
आज अत्तरियाका व्यवसायीहरुले महिनाको दुईदिन सबैले पसल बन्द गर्ने भनि बजारमा हस्ताक्षर अभियान नै सञ्चालन गरेका छन् । जय केदार सपिङ्ग सेन्टरका सञ्चालक व्यवसायी बिराज बिष्टको संयोजकत्वमा आज बजारमा हस्ताक्षर अभियान संकलन गरिएको हो ।
हस्ताक्षर अभियानमा ३ सय ५० जना व्यापारीको हस्ताक्षर संकलन गरिएको संयोजक बिष्टले बताए । उनले हाईवेमार्ग बजारमा व्यापार गरिरहेका व्यापारीहरुको पसलमै गएर हस्ताक्षर संकलन गरेको बताएका छन् ।
गर्मि सयम भएकाले सबैको पसल सम्म पुग्न नसकिएको तर अत्तरियाका सबै व्यवसायीहरुले महिनाको १५ र २८ गते बजार बन्द गर्न सहमति जनाएको उनले बताए । हस्ताक्षर संकलन अभियानका संयोजक बिष्टले अब भोली १५ गतेबाट महिनाको दुईदिन १५ र २८ गते अत्तरिया बजार बन्द हुने बताए । उनले महिनाको दुई दिन बजार बन्द गरेर सहयोग गरिदिन पनि सबै व्यापारीहरुमा आग्रह गरेका छन् ।
उता व्यापारिहरुले चलाएको अभियानमा अत्तरिया उद्योग बाणिज्य संघको समर्थन रहेको अत्तरिया उद्योग बाणिज्य संघका कोषाध्यक्ष हेमराज भण्डारीले बताएका छन् । उनले अत्तरिया उद्योग वाणिज्य संघले पहिले देखिनै महिनाको दुईदिन १५ र २८ गते बजार बन्द गर्ने निर्णय गरेको बताए । तर अत्तरियाका केहि व्यवसायीहरुले सोहि दिनपनि पसल खोलेर अटेरी गरेका थिए ।
अहिले पुनः व्यवसायीहरुलेनै १५ र २८ गते बजार बन्द गर्ने भनी बजारमा हस्ताक्षर संकलन अभियान चलाएको र यसमा अत्तरिया उद्योग बाणिज्य संघको समर्थन रहेको अत्तरिया उद्योग बाणिज्य संघका कोषाध्यक्ष भण्डारीले बताए ।
