अत्तरिया : संघिय सांसद वीर बहादुर बलायरले सुदूरपश्चिमको राजधानीका बारेमा निर्णय गर्न प्रधानमन्त्री पुष्प कमल दहाल ‘प्रचण्ड’ लाई आग्रह गरेका छन ।
सोमबार गौरीगंगा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन समारोहमा बोल्दै बलायरले प्रधानमन्त्री प्रचण्डलाई काठमाण्डौं फर्केर राजधानीका बारेमा निर्णय गर्न आग्रह गरेका हुन ।
उनले अघिल्लो प्रदेश सभाले घोषणा गरेको राजधानी अहिले सम्म पनि बन्ने नबन्ने अत्तोपत्तो नभएको बताए । ‘गएको प्रदेश सभाले कैलालीको ४ नम्बर क्षेत्रलाई प्रदेश राजधानी घोषणा गरिएको थियो ।
तर अहिले सम्म राजधानीको अत्तोपत्तो छैन’ कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित बलायरले भने ‘गोदवरी नगरपालिकाको कार्यकारी परिषदले त्यहाँको सामुदायिक वनले वन रहित ८० विगाको भोगाधिकारको लागि दिएको पत्र मैले प्रधानमन्त्रीको कार्यालय सिहदरबारमा बुझाएको छु ।
अहिले सम्म सुदूरपश्चिम राजधानी विहिन छ । यो प्रदेशले राजधानी नपाउनु विडम्बना हो ।’
उनले कैलालीको क्षेत्र नम्बर ४ जैविक विविधताले भरीपूर्ण भएपनि यो क्षेत्र पहिरो कटान र डुवानले ग्रसित भएको बताए । उनले यस बर्ष गोदावरी, शिवगंगा र चौमाला नदीलाई जनताको तटबन्ध कार्यक्रममा समावेश गरिएको बताए ।
‘अहिले सम्म यहाँका खुटिया र मोहना बाहेक जनताको तटबन्धन कार्यक्रममा सुचिकृति भएका अन्य नदी परेका थिएनन्’ उनले भने ‘यसबर्ष गोदावरी, शिवगंगा र चौमाला नदीलाई संघिय बजेटमा जनताको तटबन्धन कार्यक्रममा सुचिकृत गरिएको छ ।’
बलायर पछि बोलेका प्रधानमन्त्री प्रचण्डले यस क्षेत्रको तटबन्धको समस्या सामाधानका लागि नेपाल सरकारले पहल गर्ने बताएपनि राजधानीका बारेमा भने बोलेनन् ।
