भारतमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर बझाङका एकै परिवारका पाँच जनाको मृत्यु

बझाङ : भारतको बेङ्लोरमा खाना पकाउने ग्याँस विस्फोट हुँदा जलेर घाइते भएका बझाङका एकै परिवारका पाँच जनाको मृत्यु भएको छ । खाना पकाउने ग्याँस लिक हुँदा जलेर घाइते भएका बझाङको जयपृथ्वी नगरपालिकाका वडा नं ११, सुइलका एकै परिवारका पाँच जनाको मृत्यु भएको हो ।

घाइते भएका जयपृथ्वी नगरपालिका-११ सुइलका मदन बोहरा, उनकी श्रीमती प्रेमजला बोहरा, छोरा प्रशान्त, छोरीहरू अनिता र निताको उपचारका क्रममा मृत्यु भएको आफन्तले बताएका छन् । बुधबार राति ११ बजेतिर सबै परिवार कोठामै भएको बेला खाना पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको थियो ।

झ्याल नभएको कोठामा बसिरहेका उनीहरूको कोठामा ग्याँस लिक भएको र सलाई बाल्ने क्रममा आगलागीबाट बोहरा परिवारका सबै सदस्य जलेर घाइते भएका थिए । घाइते पाँचै जनालाई नजिकै रहेको भिक्टोरिया अस्पताल लगिएको थियो ।

उपचारमा सहयोग गर्न आर्थिक सहयोगमा जुटेकी जमुना पौडेलका अनुसार सोमबार बिहान घाइते मध्ये छोरी निता बोहरा र बुवा मदन बोहराको पनि मृत्यु भएको हो । ३० वर्षीया प्रेमजलाको शनिवार साँझ मृत्यु भएको थियो । यस अघि उनका आठ वर्षीया छोरी अनिता र साढे चार वर्षका छोरा प्रशान्तको जलेर मृत्यु भएको थियो ।

मदन विगत ६ वर्षदेखि परिवार सहित भारतमा बस्दै आएका थिए । उनी बेङलुरुको एउटा अपार्टमेन्टमा चौकीदारको काम गरिरहेका थिए भने उनकी श्रीमतीले स्थानीयको घरमा सरसफाइको काम गर्दै छोराछोरीहरूलाई त्यहीको स्थानीय विद्यालयमा पढाइरहेका थिए ।

Nabadurga Sunchadi
Loading...