अत्तरियाका बामपन्थी नेता पाण्डेले ७ दिनमै गरे काजकिरिया सम्पन्न, मृत्य पश्चातको खर्च बिद्यालयलाई सहयोग

सेवा सत्कार जिवितमा गर्ने हो,मृत्यपछि कर्मकाण्ड हैन: बामपन्थी नेता पाण्डे

अत्तरिया : हिन्दू परम्पराअनुसार १३ दिनमा सकिनुपर्ने काजकिरिया अत्तरियाका एक बामपन्थी नेताले ७ दिनमै सम्पन्न गरेका छन् । कैलालीको गोदावरी नगरपालिका १ बनखेतमा बसोबास भएका राष्ट्रिय जनमोर्चाका केन्द्रिय परिषद सदस्य तथा सुदुरपश्चिम उपाध्यक्ष हरिकृष्ण पाण्डेले आफ्नो काकाको काज किरिया ७ दिनमा सामान्य किसिमबाट सम्पन्न गरेका हुन् ।

१६ गते (बुधबार) निधन भएका उनका काकाको मंगलबार ७ दिने काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले श्रद्धाञ्जली सभा राखेर सम्पन्न भएको थियो । बामपन्थी नेता पाण्डेले न कपाल काटे, न किरियाका लागी अलग्गै बसे, न सेता लुगा, न त कुनै पिण्डको व्यवस्था । उनी सधै लगाईरहने पहिरनमा बसे । काजकिरिया समापनका दिन आज (मंगलबार) उनले आफनै घरमा आफ्न्तजन र नेताहरुलाई बोलाएर श्रद्धाञ्जली सभामा एक औपचारिक कार्यक्रम आयोजना गरी काज किरिया सम्पन्न गरेका छन् ।

उनले काकाको मात्रै हैन केही समय अगाढी स्वर्गवास भएकी आफ्नी आमाको समेत यस्तै काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले सम्पन्न गरेको बताए । उनले आफुले यसरी सामान्य एवं प्रगतिशील तरिकाले कार्यहरु गरिरहदा समाजमा रहेका केही छिमेकी र आफ्न्तहरु पनि भेट्न नआएको गुनासो गरे । मृत्यु पश्चात बिभिन्न सामाग्रीहरु दान दिने गरिएको हुन्छ तर त्यसरी खर्च गर्नुभन्दा समाजमा रहेका गरिब,असहायलाई सहयोग गर्नु उचित रहेको उनले बताए । ‘हामीले सेवा सत्कार जिवितमा गर्ने हो,मृत्यपछि कर्मकाण्ड गरेर खर्च गर्ने हैन् । मृत्यु पश्चात गरिने विधि,पद्दतिहरु परिवर्तन हुनुपर्छ ।’ उनले भने ‘काज किरिया सामान्य एवं प्रगतिशील तरिकाले सम्पन्न गरेर यसमा लाग्ने खर्च समाजमा रहेका गरिब,असहायलाई सहयोग गर्नु पर्दछ ।’

बामपन्थी नेता पाण्डेले काज किरियमा लाग्ने खर्च गोदावरी नगरपालिका-२ मा रहेको अपांगता बालबालिका अध्ययनरत सुप समावेशी आधारभुत बिद्यालयमा छात्रबृति अक्षय कोष स्थापना गर्ने घोषणा गरेका छन् । काकाको मंगलबार ७ दिने काज किरिया श्रद्धाञ्जली सभा राखेर सम्पन्न भएको कार्यक्रम मार्फत छात्रवृत्ति कोषका लागि ५० हजारको चेक बिद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई हस्तान्तरण गरेका छन् । पाण्डेका काका पनि अशक्त भएका कारण अपांगता बालबालिका अध्ययनरत बिद्यालयमा छात्रबृति अक्षय कोष स्थापना गरी सहयोग गरिएको बताईएको छ ।  खानेपानीमा आवद्ध पाण्डेकी श्रीमती कुन्ती पाण्डेले पनि तालिम लगायतका बिभिन्न कार्यक्रमहरुबाट पाएको भत्ता स्कुललाई सहयोग गरेकी छन् ।

त्यस्तै बामपन्थी नेता हरिकृष्ण पाण्डे र कुन्ती पाण्डेले यस अघि आफ्ना छोरा छोरीको विहे पनि एउटा औपचारिक कार्यक्रमको आयोजना गरि सामान्य एवं प्रगतिशील तरिकाले बिहे गरेका थिए । छोराको विहेमा नेता पाण्डेयले त्यतिबेला पनि विवाहको खर्च सुप माविको लागी छात्रबृति कोषको स्थापना गर्ने गरी ५० हजार चेक हस्तान्तरण गरेका थिए ।

बामपन्थी नेता हरिकृष्ण पाण्डे र कुन्ती पाण्डेको पनि यसरी नै प्रगतीशिल बिहे भएको थियो । बामपन्थी नेता पाण्डेका ससुरा डोटीका पुराना कम्युनिष्ट नेता डिल्लीराज भट्ट हाल गण्डकी प्रदेशका प्रदेश प्रमुख छन् ।

दुलाहाका वुवा पाण्डेले प्रगतिशिल विवाह मार्फत फजुल खर्च गर्ने भन्दा पनि विवाहको खर्च सामाजिक काममा खर्च गर्न सकिने सन्देश दिन सफल भएको बताए । बिवाहमा दान दक्षिणा नभएर अधिकार दिनुपर्ने भन्दै उनले आफ्नी छोरीलाई पनि छोरा समान हक र अधिकार दिएको बताएका छन् । उनले आफुसंग भएको धनसम्पत्ती पनि छोरा र छोरीलाई बराबरी गरेको बताए । समाज र व्यवस्था परिवर्तन हुनुपर्छ र परिवर्तनका लागि आफु लागिपरेको नेता पाण्डेले बताए ।

Nabadurga Sunchadi
Loading...