काठमाडौं : नेकपा एमाले कर्णाली प्रदेश कमिटीको नयाँ नेतृत्व चयनका लागि शनिबार निर्वाचन हुँदैछ । प्रमुख निर्वाचन अधिकृत मातृका खनालका अनुसार दिउँसो २ बजेपछि मतदानको तयारी गरिएको छ ।
अहिले उम्मेदवारमाथि दाबी विरोधको समय चलिरहेको छ । साढे ८ बजे उम्मेदवारको संशोधित नामावली प्रकाशन गरी ९ बजेदेखि ११ बजेसम्म फिर्ता लिने समय दिइएको छ । साढे ११ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत खनालले बताए। निर्वाचनबाट १३५ सदस्यीय कमिटी चयन हुनेछ ।
खनालका अनुसार अध्यक्षमा गुलावजंग शाह, मीनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकाया गरी पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन्। एक उपाध्यक्षका लागि तीन र सचिवमा तीन जनाको उम्मेदवारी परेको छ ।
दुई उपसचिवमा खुलातर्फ ९ र महिलामा दुई जनाले उम्मेदवारी दर्ता गराएका छन् । खुला सदस्य १९ जनाका लागि ५८ जना प्रतिस्पर्धामा छन् । प्रमुख निर्वाचन अधिकृत खनालका अनुसार भूगोलतर्फ केही सदस्य निर्विरोध भएका छन् । निर्वाचनमा ६१६ प्रतिनिधिले मतदान गर्नेछन् ।