अत्तरियामा २२ गतेदेखी सुदूरपश्चिमका उत्पादित वस्तुहरूको विक्री वितरण,प्रवद्र्धन र प्रदर्शनी बजार लाग्ने
अत्तरिया : कैलालीको अत्तरियामा दसैँ तिहारको अवसरमा सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवद्र्धन र प्रदर्शनी बजार लाग्ने भएको छ । कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा असोज २२ गते देखि कार्तिक १७ गतेसम्म प्रवद्धन बजार लाग्ने भएको हो ।
आज (शनिबार) अत्तरियामा पत्रकार सम्मेलनको आयोजना गर्दै यसपालिको दसैँ तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने भन्ने नाराका साथ यस क्षेत्रका उत्पादनको विक्री वितरण प्रवद्धन र प्रदर्शनी बजार लगाउन लागिएको जनाइएको छ ।

नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश अध्यक्ष विनोद मल्लले सुदूरपश्चिमकै उत्पादन प्रयोग गरेर समृद्ध सुदूरपश्चिम बनाउने उद्देश्यले उत्पादन प्रवद्धन गर्न लागिएको बताए । उनले प्रवद्धन बजारमा सम्बन्धित निकायबाट अनुमति लिएर यस क्षेत्रमा उत्पादन गरिरहेका जुत्ता, चप्पल, गार्मेन्टका उत्पादन देखि लिएर सुदूरपश्चिमका ९ वटै जिल्लामा उत्पादन हुने परम्परागत सामाग्री, खाद्यान्नका स्टल राखिने बताएका छन्। सुदूरपश्चिमका उत्पादन एकै ठाउँमा ल्याऔँ भने उद्देश्यले यो कार्यक्रमको आयोजना गरेको उनले बताए ।
यस क्षेत्रका उत्पादन नछुटुन् भनेर सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई पत्राचार गरिएको अध्यक्ष विनोद मल्लले बताएका छन् । उनले कार्यक्रमबाट सुदूरपश्चिमकै उत्पादन प्रयोग गरौँ भन्ने भावनाको पनि विकास हुने अपेक्षा लिएको बताए । एक दर्जनको हाराहारीमा स्टल सञ्चालन गरिने र, ती निःशुल्क रूपमा विक्रेतालाई उपलब्ध गराइने उनले बताएका छन् ।
कैलाली चेम्बर अफ कमर्सका अध्यक्ष प्रमोद अधिकारीले सुदूरपश्चिमका उत्पादन बजारीकरणमा समस्या देखिएकाले त्यसको सहजताका लागि बजार प्रवद्र्धन कार्यक्रम आयोजना गर्न लागिएको बताए । उनले प्रवद्र्धन बजारमा सुदूरपश्चिम क्षेत्रमा उत्पादन हुने सबै सामाग्री उपलब्ध गराउन प्रयास गरिने बताएका छन् । बजार प्रवद्र्धन कार्यक्रम अन्तरगत सुरुका केही दिन सुदूरपश्चिमका उत्पादन सँग सम्बन्धित बहस कार्यक्रम आयोजना गरिने अध्यक्ष अधिकारीले बताए ।