काठमाडौं : सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरी कास्की प्रहरीको हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरीले जिल्ला अदालत कास्कीमा पेस गरेको छ ।
म्याद थपपछि प्रहरीले उनीविरुद्ध सहकारी रकम ठगी र संगठित अपराधबारे अनुसन्धान सुरु गर्नेछ । जिल्ला अदालत कास्कीले शुक्रबार रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरा महानगरपालिकाको शहिदचोक र ग्रैहापाटन आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरे पनि रास्वपा कार्यकर्ताले निरन्तर प्रदर्शन गरेका थिए । यद्यपि, प्रहरीले प्रदर्शनकारीलाई छलेर अर्कै बाटोबाट उच्च सुरक्षासहित आफ्नै गाडीमा अदालत छिराएको हो ।
नारावाजी र प्रदर्शनका क्रममा बेलाबेलामा प्रहरीसँग धकेलाधकेलसमेत भइरहेको थियो । प्रदर्शनको नेतृत्व रास्वपाका शीर्ष नेताहरू उपसभापति डिपी अर्याल, स्वर्णीम वाग्ले, पूर्वमन्त्री सुमना श्रेष्ठ, सांसद हरि ढकाल आदिले गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भरतमणि पौडेलद्वारा आज जारी निषेधाज्ञासम्बन्धी सूचनामा सहिदचोकको पूर्वपट्टि वाइचोक, पश्चिमतर्फ फिस्टेल गेट, उत्तरतर्फ मालपोत कार्यालय, दक्षिणतर्फ मुस्ताङचोकस र ग्रैहापाटनको पालिखेचोकबाट नविन माध्यमिक विद्यालयसम्मको सडक क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनशन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन, सभालगायत विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा सभापति लामिछानेलाई काठमाडौँबाट पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो ।
