अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा गोदावरी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगीता आयोजना हुने भएको छ । नगरपालिकाको वडा नम्बर १० मा रहेको न्यू ग्वासी सहारा यूवा क्लबले प्रतियोगिता आयोजना गर्न लागेको हो ।
क्लबले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी यही कार्तिक १० गतेदेखी प्रतियोगीता शुरु हुने जानकारी दिएको छ । पहिलोपटक गोदावरीमा आयोजना हुन लागेको गोदावरी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगिताको प्रथम पुरस्कार राशी नगद रु.१ लाख १ हजार १ सय ११ रुपैया तथा द्धितिय पुरस्कार राशी नगद रु.५१ हजार १ सय ११ रुपैया सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद रु.२ हजार १ सय ११ तथा बेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई नगद रु.१ हजार ५ सय ११ रुपैया राखिएको प्रतियोगीता संयोजक तथा क्बलका सचिव अरुण भण्डारीले जानकारी दिए । उनले प्रतियोगिताको राईजिङ प्लेयरलाई पनि आर्कषक पुरस्कारको व्यवस्था रहेको बताए । त्यसका साथै यसपटक प्रतियोगीतामा फेयर प्ले पुरस्कार पनि राखिएको भण्डारीले बताएका छन्। संयोजक भण्डारीका अनुसार प्रतियोगीतामा अनुशासित भएर खेल खेल्ने टिमलाई फेयर प्ले पुरस्कार प्रदान गरिने छ । जसको पुरस्कार राशी नगद रु.५ हजार १ सय रहेको छ ।
क्लबकै खेलमैदानमा हुने प्रतियोगीतामा देशभरका जस्तो सुकै खेलाडीहरुलाई पनि सहभागि गराउन सकिने क्लबका सल्लाहकार भुवन भट्टले जानकारी दिए । उनले लिग कम नकआउट चरणमा प्रतियोगीता सञ्चालन गरिने बताए । उनका अनुसार लिग चरणका खेलहरु १५ ओभर र नक आउट चरणका खेलहरु २० ओभरका खेलाईनेछ । क्लबले यसअघि गोदावरी नगरपालिकास्तरिय मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । यसपटक पनि सोही संस्करण आयोजना गर्ने भनिएपनि नगरपालिकाले सहयोग नगर्दा गोदावरी प्रिमियर लिगको पहिलो संस्करण आयोजना गर्न लागिएको भट्टले बताएका छन् । उनले आफुहरुले विभिन्न संघसंस्थाहरु संग सहयोग मागेर प्रतियोगिता आयोजना गरिरहेको बताए ।
यस्तै क्लबका अध्यक्ष केशव खड्काले युवाहरुको प्रतिभा प्रस्फुटन गर्नका लागि प्रतियोगिता आयोजना गरिरहेको बताए । उनले स्थानियस्तरमा खेलाडीहरु उत्पादन गर्न तथा खेलाडीहरुलाई व्यवसायीकरण तर्फ लैजान प्रतियोगीताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताएका छन् । प्रतियोगीतामा देशभरबाट १६ भन्दा बढी टिमको सहभागिता रहने आयोजकले अपेक्षा लिएको छ ।
प्रतियोगीताको हस्पिटालिटी पार्टनरका रुपमा अत्तरिया स्थित न्यू होम टाउन क्याफे रहेको छ ।
