अत्तरिया : कैलालीकोे गोदावरी नगरपालिका-१ मा निर्माण भएको बडेहाँ बिजौर खानेपानीको उद्घाटन गरिएको छ । बिहिबार उपभोक्ता तथा सरसफाई समितिको प्रथम वार्षिक साधारण सभाका साथै खानेपानीको सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पालले उद्घाटन गरेका हुन् ।
२०७५ सालबाट निर्माण सुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भएपछि उद्घाटन गरिएको जनाएको छ । उपभोक्ता समितिका अध्यक्ष बलबहादुर चौधरीको सभापतित्वमा आयोजित कार्यक्रममा सुदूरपश्चिम प्रदेश भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्रबहादुर पाल प्रमुख अतिथी भएका रहेका थिए ।
कार्यक्रममा मन्त्री पालले मानव जीवनमा खानेपानीको महत्व उच्च रहेकोले यसको संरक्षण र सम्बद्र्धनमा सबैले लाग्नुपर्ने बताएका छन् । उनले खानेपानी सञ्चालन मात्र नभई यस क्षेत्रका बासिन्दाहरु, उपभोक्ता समिति लगायत व्यक्तित्वहरुले यसको सही सदुपयोग सँगै विकास निर्माण कार्यमा सहजताका लागी एकजुट भएर लाग्नुपर्ने बताए । मन्त्री पालले विकासको क्षेत्रको आवश्यकतामा सदैव साथ सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे ।
सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पुर्वाधार विकास मन्त्रालयको करिब १२ करोड २९ लाख लागतमा खानेपानी आयोजना निर्माण भएको बडेहाँ बिजौरा खानेपानि उपभोक्ता तथा सरसफाई समितिका सचिव मानबहादुर बलायरले बताए। खानेपानी आयोजना निर्माणका लागि भागेश्वर स्कुलले २ कट्टा जमिन उपलब्ध गराएको हो । खानेपानीको ४२ किलोमिटर पाईपलाईन विस्तार गरिएको छ भने ६ सय ५ जना उपभोक्ता रहेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको लगानी र जिल्ला खानेपानी डिभिजन कार्यालय अन्तर्गत उक्त खानेपानी निर्माण भएको समितिका सचिव बलायरले बताए । खानेपानीबाट गोदावरीको वडा नम्बर १, ५ र ६ का बडेहा, भुँयारा, नहरटोल, कुटीकटान, बिजौरा, चैतन्यपुर, सालघाडी र गेटाका करिब २५ सय घरधुरी लाभान्वित हुने छन् ।
बिगतका दिनमा खोला नालाको दुषित पानी र नल्काको पानी पिउन बाध्यता रहेका स्थानीयहरु बडेहाँ बिजौरा शुद्ध खानेपानी निर्माण भएर घरघरमा धारा जोडिने भएपछि निकै हर्षित भएका छन् ।
यस्तै कार्यक्रममा डिभिजन खानेपानी धनगढीका कार्यालय प्रमुख गणेश उपाध्यायले बड़ेहा बिजौरा खानेपानी उपभोक्ता समितीलाई स्वामित्व हस्तान्तरण गरेका छन् । कार्यक्रममा खानेपानि निर्माणमा सहयोग गर्ने बिभिन्न सहयोगी दाताहरुलाई सम्मान गरिएको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला राज्यमन्त्री प्रकाशबहादुर बम, प्रदेशसभा सदस्य तुलसी देवकोटा, पूर्व राज्यमन्त्री चुनकुमारी चौधरी, गोदावरी नगरपालिका नगर उप प्रमुख शारदा रोकाया, गोदावरी नगरपालिका नगर प्रवक्ता गोपाल दत्त भट्ट, अत्तरिया खानेपानीका अध्यक्ष टीकादत्त जोशी, गोदावरी नगरपालिका वडा नं १ का पूर्व वडा अध्यक्ष शर्मानन्द भट्ट लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, समाजसेवी लगायत स्थानियहरुको सहभागिता रहेको थियो। सिद्ध बोहराले सञ्चालन गरेको कार्यक्रममा समितिकी सदस्य हरि माया कठायतले स्वागत मन्तव्य राखेकी थिईन् ।



