अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा गोदावरी प्रिमियम लिग खुल्ला क्रिकेट प्रतियोगिता सुरु भएको छ । न्यु ग्वाँसी साहारा युबा क्लबको आयोजनामा उक्त प्रतियोगिता शनिबार देखि शुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बिच गोदावरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष रविन्द्र शाही (गुड्ड) ले उद्घाटन गरेका छन् ।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष शाहीले स्थानीय स्तरमा यती ठुलो प्रतियोगिता आयोजना गर्न धेरै चुनौतीका बाबजुद क्लबले राम्रो काम गरेको बताए । उनले वडाको खाता सञ्चालन नभएकाले वडाबाट तत्काल आर्थिक सहयोग गर्न सक्ने अवस्था नभए पनि अन्य कुरामा सहयोग रहने बताए । आयोजना सञ्चालनको लागि आफू नियमित रूपमा क्लब सँगको सहकार्यमा रहेको बताएका छन् ।
शनिबारबाट शुरु भई २३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको प्रथम पुरस्कार राशि नगद १ लाख १ हजार १११ रुपैयाँ तथा द्धितिय पुरस्कार राशि ५१ हजार १११ रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र रहेको छ ।
प्रतियोगिताको म्यान अफ द सिरिजलाई नगद २ हजार १११ तथा वेस्ट ब्याट्सम्यान र वेस्ट बलरलाई नगद १ हजार ५११ रुपैयाँ राखिएको छ । प्रतियोगितामा अनुशासित भएर खेल खेल्ने टिमलाई फेयर प्ले पुरस्कार प्रदान गरिने छ । जसको पुरस्कार राशि नगद रु. ५ हजार १ सय रहेको छ ।
क्लबले यसअघि गोदावरी नगरपालिका स्तरिय मेयर कप क्रिकेट प्रतियोगिता आयोजना गरिसकेको छ । यस पटक पनि सोही संस्करण आयोजना गर्ने भनिए पनि नगरपालिकाले सहयोग नगर्दा गोदावरी प्रिमियम लिगको पहिलो संस्करण आयोजना गरिएको आयोजकले बताएको छ । प्रायोजकहरूको सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको आयोजकले बताएको हो ।
प्रतियोगिता क्लबको खेल मैदान शिबरामपुरमा भैरहेको छ । क्लबका अध्यक्ष केशव खड्काको सभापतित्वमा आयोजित उद्घाटन कार्यक्रममा वडाध्यक्ष रविन्द्र शाही (गुड्ड) प्रमुख अतिथी रहेका थिए । यस्तै कार्यक्रममा बिशिष्ठ अतिथि कांग्रेसका युवा नेता योगेश भट्ट रहेका थिए भने स्थानीय राजनीतिक दलका प्रतिनिधि, सामुदायिक बन उपभोक्ता समितिका प्रतिनिधि लगाएत अन्यको सहभागिता रहेको थियो । क्लबका सचिब अरुण भण्डारीको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन भुबन भट्टले गरेका थिए ।
गोदावरी प्रिमियर लिगमा अनुपमा अलराउन्डर्सको विजयी सुरुवात
शनिबारदेखी सुरु भएको गोदावरी प्रिमियर लिग खुल्ला क्रिकेट प्रतियोगितामा धनगढीको अनुपमा अलराउन्डर्सले विजयी सुरुवात गरेको छ । शनिबार उद्घाटन खेलमा आयोजक न्यू ग्वासी सहारा युवा क्लबको बि टीमलाई ८३ रनको फराकिलो अन्तरले पराजित गर्दै अनुपमा अलराउन्डर्सले विजयी सुरुवात गरेको हो । टस जितेर ब्याटिङ रोजेको अनुपमा अलराउन्डर्सले निर्धारित १२ ओभरमा ५ विकेटको क्षतिमा १२५ रन बनायो ।
