पक्राउ परेका रास्वपा सभापति लामिछानेलाई रुपन्देही लैजाने तयारी

काठमाडौं : सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने २ कार्तिकदेखि कास्की प्रहरीको हिरासतमा छन् । कास्कीमा लामिछानेमाथि अनुसन्धान गर्न दुईपटक म्याद थप गरिसकेको छ । तर कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण उनी प्रहरी हिरासतमै छन् ।

ठगी र संगठित अपराध कसुरमा अनुसन्धानका लागि पक्राउ परेका उनलाई थप अनुसन्धानकै लागि रुपन्देही लाने तयारी गरिएको छ । पोखरामा सहकारी ठगी सम्बन्धमा अनुसन्धान सकिएको जनाइएको छ। यद्यपि मंगलबार नै पठाउने वा छठसम्मका लागि म्याद थपेर पोखरामै अनुसन्धान गर्ने भन्नेमा भने प्रहरी निष्कर्षमा पुगेको छैन ।

रुपन्देही प्रहरीका अनुसार कास्की अदालतबाट म्याद थप नभएको अवस्थामा कास्की प्रहरीको समन्वयमा रुपन्देही ल्याएर अनुसन्धान गर्न हुने प्रहरीको भनाइ छ । रुपन्देही जिल्ला अदालतले गत कात्तिक ८ गते नै बुटवलस्थित सुप्रिम सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कका लगेर खर्च गरेको कसुरमा लामिछानेलाई हिरासतमा लिएर अनुसन्धान गर्न अनुमति दिइसकेको छ ।

सुप्रिम सहकारीबाट १ करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशी पनि कास्की प्रहरी हिरासतमै छन् । उनकाे भने यसअघि नै बुटवल लगनेर बयान लिएर कास्की नै फर्काइएकाे छ।

कास्की प्रहरी हिरासतमा रहेका लामिछानेलाई अनुसन्धानका लागि अदालतको अनुमतिअनुसार रुपन्देही पठाइदिन रुपन्देही प्रहरीले एक साताअघि नै पत्राचार गरिसकेको छ ।

Loading...