धनगढी : दसैँ तिहार सकिए सँगै हवाई भाडा दोब्बर वृद्धि भएको छ । चाडपर्व अघि धनगढी काठमाण्डौंको भाडा ८ हजारको हाराहारीमा रहेकोमा अहिले दोब्बर वृद्धि भएको हो ।
श्री एयरलाइन्सले आज धनगढीदेखि काठमाडौँ सम्मको भाडा १६ हजार ६६५ रुपैयाँ तोकेको छ । मंगलबारका लागि बुद्ध एयरलाइन्सले पनि १६ हजार ६४४ तोकेको छ । तर, यसअघि काठमाडौँ धनगढीको भाडा भने घटाइएको छ ।
अहिले काठमाडौँदेखि धनगढी सम्मको भाडा ७ हजार ९ सय तोकिएको छ । चाडपर्व सकिएपछि काठमाण्डौं फर्किनेको बढी चाप हुने भएकाले सोही मौकाको फाइदा उठाउँदै एयरलाइन्सहरुले भाडा दोब्बर पारेका छन।
