कैलाली र कञ्चनपुरबाट ५८ जना जुवा र कौडा खेल्ने पक्राउ
पक्राउ परेकाहरुको साथबाट २ लाख भन्दा बढी नगद र दर्जनौ गड्डी ताससंगै मोबाईल बरामद
अत्तरिया : कैलाली र कञ्चनपुरबाट ५८ जना जुवा र कौडा खेल्ने पक्राउ परेका छन् । कैलालीबाट २८ र कञ्चनपुरबाट ३० जना पक्राउ परेका हुन् । धनगढी उपमहानगरपालिका-७ गौरीचोकबाट जुवातास खेलिरहेको अवस्थामा ८ जनालाई पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराले स्थानीय सुरेश चौधरीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोमवार बिहान उनीहरूलाई पक्राउ गरिएको बताए । उनीहरूको साथबाट ८८ हजार दुई सय नगद र दुई गड्डी तास बरामद गरिएको बोहोराले बताए ।
यस्तै, कौडा खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरिएको छ । गौरीगंगा नगरपालिका–१ को गोप्कामा भैरव चन्दले सञ्चालन गरेको रोयल फेमली रेष्टुरेन्ट एण्ड बारमा कौडा खेलिरहेका २० जनालाई पक्राउ गरिएको डीएसपी बोहोराले बताए ।
उनीहरूको साथबाट ६ थान कौडा, ७९ हजार ९११ रूपैयाँ नगद र १८ वटा मोबाइल बरामद गरिएको छ । पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तै उता कञ्चनपुरको वेदकोट नगरपालिका-४ बगुनका ४६ वर्षीय ईश्वर भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा उनीसहित २० जना सोमबार पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले उनीहरूलाई ३६ हजार ९८ रूपैयाँ र ६ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका-९ राजघाटस्थित यज्ञबहादुर महराको मदिरा पसलमा जुवातास खेलिरहेको अवस्थामा राजघाटका ५० वर्षीय जियाराम चौधरीसहित १० जना गएराति पक्राउ परेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको टोलीले नगद १३ हजार २ सय १० रूपैयाँ र दुई बुक ताससहित पक्राउ गरेको जनाएको छ।
