भजनी : कैलालीको बौनियामा रहेको सहारा घर बेसहाराका भरपर्दो आश्रयस्थल बनेको छ । विसं २०७२ मा बलबहादुर विष्टले आश्रयको खोजी गरिरहेका बेसहारालाई सहारा दिन स्थापना गरेको ‘सहारा घर’ आज सडक मानवका लागि महत्वपूर्ण आश्रयस्थल बनेको हो ।
परिवार र समाजबाट अपहेलित भएर पागलको संज्ञा पाएका सयौँ बेसहारा सहारा घरको सहयोगमा सामान्य जीवन निर्वाह गर्न सफल भएका सहारा घरका संस्थापक संरक्षक विष्टले बताए ।
“परिवार र समाजले नचिनेका सबै क्षेत्रबाट अपहेलनामा परेकालाई सहारा दिन यो घर स्थापना गरेका हौँ”, उनले भने, “विसं २०७२ देखि हालसम्म सडकबाट उठाएर ल्याइएका ४०५ जनाको उपचारपछि निको भएर पारिवारिक मिलन गराएका छौँ ।”
सहाराका लागि ल्याइएका ३८ जनाले यही घरमा देह त्याग गरेका भन्दै विष्टले देह त्याग गरेकाको सम्झनामा ‘सहारा शान्ति वाटिका’ निर्माण गरिएको जानकारी दिए । उनका अनुसार अहिले पनि सहारा घरमा ५८ जना सडक बेसहाराले सहारा लिइरहेका छन् ।
“यहाँ रहनुभएका कसैले पनि मानसिक सन्तुलन गुमाउनु भएको छैन । शारीरिक, मानसिक तथा अन्य कारणले परिवार र समाजबाट अपहेलित भएर सडकमा आएकाहरू यहाँ पुगेपछि अनुशासनलाई पालना गरेर बस्नुभएको छ । यहाँ आउने अधिकांश बाध्यताले सडकमा पुग्ने अवस्था छ”, संस्थापक विष्टले भने ।
घरलाई बर्दगोरिया गाउँपालिकाका साथै कैलालीका अन्य पालिकाले पनि सहयोग गर्दै आएका विष्टले बताए । विभिन्न सङ्घसंस्थाले आवास निर्माणमा सहयोग गरिरहेका छन् ।
“घरमा एउटा एम्बुलेन्सको व्यवस्था गरिएको छ । सुदूरपश्चिम प्रदेशले पनि सहारा घरलाई सहयोग गर्दै आएको छ”, उनले भने ।
सहारा खोजिरहेका मानिसको जिम्मा राज्यले लिनुपर्ने संस्थापक विष्टको जोड छ । उनले कुनै व्यक्ति वा संस्थाले शुरुवात गरेर राज्यले गर्ने काममा साथ दिएको भन्दै त्यसको स्वामित्व राज्यले लिनुपर्ने र मानिसको आधारभूत अधिकार प्रदान गरिनुपर्नेमा जोड दिए ।
“राज्यले मानवमुक्त सडक बनाउने नीति लिएको छ, अब बेसहारालाई सहारा दिने काम पनि गर्नुपर्छ”, उनले भने । सहारा घरमा रहेका बेसहाराको लागि नागरिकस्तरबाट राम्रो सहयोग प्राप्त हुने गरेको संस्थापक विष्टले बताए ।
उनका अनुसार कैलालीको टीकापुरस्थित गुडिमुन्टे समूहले देउसीभैलोबाट सङ्कलन भएको रकमबाट एक दिनको भोजन गराएको छ ।
समूहले देउसीभैलोबाट सङ्कलन भएको चामलसहित ७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरेको देउसीभैलोका संयोजक राजेन्द्र विश्वकर्माले बताए ।
“वर्षेनि देउसीभैलोबाट सङ्कलन भएको रकमको २० प्रतिशत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका छौँ । यस वर्ष पनि सोहीअनुसार सहयोग गरेका हौँ”, उनले भने, “देउसीभैलोमा सङ्कलन भएको केही रकम समाजिक कार्यमा सहयोग गर्दा सकारात्मक सन्देश प्रवाह हुन्छ ।”
