धनगढी-उपमहानगरद्वारा ४६६ मृतकका आफन्तलाई दाह संस्कार खर्च

अन्य पालिकामा पनि शव चिस्यान सेवा

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले ४ सय ६६ मृतकका आफन्तलाई दाह संस्कार खर्च उपलब्ध गराएको छ । २०८० साल असोज १ गतेबाट सुरु भएको यो सेवाबाट हालसम्म ४६६ परिवार लाभान्वित भएका छन् ।

धनगढीमा कुनै नगरवासीको मृत्यु हुँदा आर्थिक अभावमा दाहसंस्कार गर्न समस्या नहोस् भनेर उपमहानगरपालिकाले मृतकको घरैमा नगर प्रहरी पठाएर आफन्तलाई दाहसंस्कार गर्न नगद पाँच हजार दिने गरेको छ । उपमहानगरपालिकाले एक वर्षमा २३ लाख ३० हजार रुपैयाँ दाउरा खर्चका लागि मृतकका परिवारलाई वितरण गरेको छ । यसका लागि दुईजना नगर प्रहरी मृतकको घरमै गएर रकम हस्तान्तरण गर्ने र उपमहानगरपालिकाको झण्डा ओढार सलामी दिने गरेका छन् । नगरप्रहरीले हालसम्म ४२ जना मृतकलाई सलामी दिइसकेको छ ।

Dhangadhi_Tihar 2083

धनगढी उपमहानगरपालिकाका नगर प्रहरी निरीक्षक पदमबहादुर गैरेका अनुसार मृतकका परिवारलाई पाँच हजारका दरले दाउरा खर्च दिने गरिएको छ । टायरमा जलाउन नपरोस भनेर मृतकका आफन्तले खबर गरेपछि रकम सहित नगर प्रहरी घरमै पुग्ने गरेको छ । रकम आवश्यक नपरेकालाई सलामी मात्र दिने गरेको गैरेले बताए ।

यसका साथै धनगढी उपमहानगरपालिकाले घर तथा अस्पतालबाट घाटसम्म तथा अस्पतालबाट घरसम्म शव लैजान निःशुल्क शववाहन सेवा उपलब्ध गराउँदै आएको छ । उपमहानगरभित्र कुनै नागरिकको निधन भएमा प्रदान गरिदै आएको सेवा छिमेकी पालिकाहरुमासमेत विस्तार गरिएको छ । उपमहानगरभित्र कार्यरत नगर प्रहरीले कैलालीको कैलारी गाउँपालिका र गौरीगंगा नगरपालिका तथा कञ्चनपुरको कृष्णपुर र पुनर्वास नगरपालिकाका नागरिकलाई शव चिस्यान सेवा उपलब्ध गराउँदै आएको छ ।

उपमहानगरपालिकाले हालसम्म १९५ मृतकका परिवारलाई यस्तो सेवा उपलब्ध गराइसकेको छ । नगर प्रहरीले १९५ मृतक शरिरलाई उनीहरुका सन्तान तथा आफन्तको प्रतिक्षाका लागि शव चिस्यान यन्त्रमा राखेको छ । कसैको मृत्यु भएपछि टाढा रहेका आफन्त आइपुग्न ढिलो हुने भएपछि शवलाई चिस्यान केन्द्रमा राख्ने व्यवस्था मिलाइएको छ ।

मृतकका आफन्त काम विशेषले घरबाहिर भएका र उनीहरु नआउन्जेलसम्म शवलाई सुरक्षित राख्न निःशुल्करुपमा शव चिस्यान सेवाको उपयोग गर्दै आएका छन् । उपमहानगरले विद्युतबाट सञ्चालन हुने पाँचवटा शव चिस्यान मेसिन खरिद गरेको छ । तीनवटा धनगढीबासीका लागि तथा दुईवटा चिस्यान मेसिन छिमेकी पालिकालाई उपलब्ध गराउने गरिएको छ ।

Loading...