धनगढी : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (आईतबार) सुदूरपश्चिम आउन लागेका छन् । देउवा आज बिहान १० बजे काठमाडौबाट हवाईमार्ग हुँदै धनगढी आउन लागेका हुन् ।
धनगढीमा भेटघाटपछि उनी एक हप्ताका लागि गृहजिल्ला डडेल्धुरा पुग्ने जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिए । उनका अनुसार डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सहभागी हुने कार्यक्रम तय भएको छ ।
देउवा चौलोले प्रख्यात बडाल जाँत र उग्रतारा मेलामा सहभागी हुने सभापति साउदले बताए । कार्तिक २६ गते आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
यस्तै २७ गते सभापति देउवा गन्यापधुरा गाउँपालिकाको बडाल जाँतमा सहभागी हुनेछन् भने २८ गते नेपाली काँग्रेस जिल्ला कार्यसमिति बैठकमा सहभागी हुने बताइएको छ ।
त्यसैगरी २८ गते पालिका स्तरीय भेटघाट, २९ गते पनि भेटघाट कार्यक्रम, कार्तिक ३० गते जन्मस्थान गन्यापधुरा गाउँपालिका-१ रुवाखोला जाने कार्यक्रम तय भएको छ । यस्तै देउवा मंसिर १ गते उग्रतारा मेलामा सहभागी हुने जिल्ला सभापति साउदले जानकारी दिएका छन् ।
