अत्तरिया : डोटीको मौवा स्थित नमादेव मन्दिरमा कार्तिक २९ गते जाँत हुने भएको छ । जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा अवस्थित प्रसिद्ध नमादेब मन्दिरमा कार्तिक चतुदर्शीका दिन २९ गते जाँत हुने भएको हो ।
कार्तिक २८ गते द्वादशीका दिन रतेडी र २९ गते त्रियोदशी\चतुदर्शी का दिन दिउँसेडी जाँत हुने बताइएको छ । रतेडीका दिन पुजा आराधना संगै बिभिन्न चर्चित देउडा गायक लाई बोलाएर रातभर देउडा खेलेर रमाइलो गर्ने गरिएको छ भने दोस्रो दिनमा दिउँसेडी मेला लाग्ने गरेको छ ।
आफ्नो कुल देउता पुज्न बिभिन्न ठाउँमा बसोबास गरिरहेकाहरु उक्त दिन सो ठाउमा पुग्ने गर्दछन् भने मेला हेर्न अन्य गाउँका मानिसहरुपनि त्यहा आईपुग्ने गर्दछन् । नमादेब देवताको दर्शन गरे मनोकामना पूरा हुने भन्ने जनविश्वास रहेको छ।
मेलामा आफ्न्तहरुले भेटघाट गर्दै आफ्ना सुखदुःखका कुरा साटासाट हुने गर्दछन् । मेलामा स्थानीय स्तरमा उत्पादित बस्तु र कृषि उपजको व्यापार समेत हुने गरेको छ।
सुदूरपश्चिमका पहाडी जिल्ला तिहार लगतै विभिन्न शक्तिपिठमा मेलाको चहलपहल सुरु भएको छ । डोटीका पनि विभिन्न प्रशिद्ध धार्मीक स्थलमा पनि जाँत (जात्रा) हुँदा मन्दिरको पूजा र दर्शन गर्न तराईका जिल्ला कैलाली, कञ्चनपुर लगायत भारतबाट आउने नेपाली भक्तजनको घुँईचो लाग्ने गरेको छ ।
