सुदूरपश्चिम आईपुगे देउवा, एक हप्ता विभिन्न कार्यक्रममा सहभागी हुने

अत्तरिया : पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा सुदूरपश्चिम आइपुगेका छन । उनी एक हप्ता गृहजिल्लाको लामो बसाइका लागि सुदूरपश्चिम आएका जनाइएको छ ।

गृहजिल्लाका सँगै कैलालीमा केही कार्यक्रममा सहभागी हुन सुदूरपश्चिम आइपुगेका हुन । डडेल्धुरामा देउवा कार्यकर्ता भेटघाटका कार्यक्रमदेखि देवीदेउताका विभिन्न जात्रामा सहभागी हुने कार्यक्रम तय भएको जिल्ला सभापति भीमबहादुर साउदले बताए । आइतबार धनगढी बिमानस्थलमा ओर्लिएका देउवा सडक मार्ग हुँदै डडेल्धुरा गएका छन ।

सभापति देउवा आज (सोमबार) डडेल्धुराको आलिताल गाउँपालिका र परशुराम नगरपालिकामा आयोजना हुने कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ । कार्यतालिका अनुसार कात्तिक २७ गते गन्यापधुरा गाउँपालिकाको बडाल जाँत (जात्रा) मा सहभागी हुने छन् । नेपाली कांग्रेस डडेल्धुरा सभापति भीमबहादुर साउँदका अनुसार देउवाले कात्तिक २८ गते पार्टीको जिल्ला कार्यसमितिको बैठक, पालिकास्तरीय भेटघाट र २९ गते कार्यकर्ता भेटघाट कार्यक्रम रहेको छ ।

सभापति देउवा कात्तिक ३० गते गन्यापधुरा गाउँपालिका-१ रुवाखोलामा आयोजना हुने कार्यक्रममा सहभागी हुनेछन् । जिल्ला सभापति साउदले पूर्वप्रधानमन्त्री देउवा मंसिर १ गते डडेल्धुराको उग्रतारा मेलामा सहभागी हुने कार्यक्रम तय भएको पनि जानकारी दिए ।

कांग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका प्रवक्ता सुरत रावतका अनुसार डडेल्धुराबाट फर्किएपछि सभापति देउवाले मंसिर २ गते कैलालीको चौमाला बहुमुखी क्याम्पसको भवन उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।

आइतबार नै धनगढीबाट गृह जिल्ला डडेल्धुरा जाने क्रममा देउवाले मातृ शोकमा परेका अत्तरियाका युवा नेता लोक राज पाण्डे ‘आगो’ को घरमा पुगेर समवेदना दिएका थिए ।

यस्तै डडेल्धुरा जाने क्रममा खानिडाँडा बजारमा देउवालाई स्थानियले स्वागत गरेका छन् । स्वागत गर्दै उनीहरूले खानीडाँडा पर्यटकीय गन्तव्य र सम्भावना बोकेको क्षेत्र भएकाले पर्यटकीय गन्तव्य बनाउन पहल गरिदन आग्रह गरेका छन् । पूर्व प्रधानमन्त्री देउवाले आफू खानिडाँडाका बारेमा परिचित भएकोले यसका बारेमा आफू पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

Nabadurga Sunchadi
Loading...