अत्तरिया : कैलालीमा एक युवकको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका–११ कान्तिपुरका ३० वर्षीय सुरेश भुलको उपचारका क्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले बाख्रा चोरी गरेको निहुँमा भुलमाथि शनिबार राति कुटपिट भएको बताए । कुटपिटबाट घाइते भएका भुलको सोमबार बिहान निसर्ग अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

उनका अनुसार भुलमाथि कुटपिट गर्ने गौरीगंगा-११ कान्तिपुरकी ३४ वर्षीया रामा रावलसहित पाँच जनालाई पक्राउ गरिएको छ । ३४ वर्षीया रमा रावल, ६५ वर्षीय जंग भुल, १८ वर्षीय प्रकाश भुल (नाम परिवर्तन), २३ वर्षीय विशाल विक र ३० वर्षीय धर्म विकलाई पक्राउ गरिएको डीएसपी बोहराले बताए ।
भुलको मृत्यु भएपछि उनीहरुलाई सोमबार बिहान इलाका प्रहरी कार्यालय मसुरियाको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका पाँचै जनामाथि इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको छ ।
मृतक विकले औषधि पसल समेत सञ्चालन गर्दै आएका थिए । मृतक भुल सूचनाको हकका लागि राष्ट्रिय महासंघ कैलालीका सदस्य समेत थिए। इलाका प्रहरी कार्यालय मसुरियाका वरिष्ठ सई लक्ष्मीदत्त भट्टका अनुसार मृतक भुलले बाख्रा चोरेको भन्दै २० गते निवेदन परेको थियो । वडा कार्यालयको सीसीटीभी फुटेज हेर्दा मृतक भुलले बाख्राको कान समातेर लगेको देखिएको वरिष्ठ सई भट्टले बताएका छन् ।