सुदूरपश्चिममा जात्राको रौनक

अत्तरिया : तिहार सकिएसँगै सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा जात्राको रौनक चलिरहेको छ । डोटी, बैतडी, दार्चुला, डडेल्धुरा, अछामलगायत जिल्लामा कात्तिक शुक्ल पक्षको सुरुवातसँगै जात्राको रौनक सुरु भएको हो ।

कात्तिक शुक्ल पूर्णिमासम्म सुदूरपश्चिमका विभिन्न मठमन्दिरमा जात्रा लाग्ने गर्छ ।अछामको कमलबजार नगरपालिका-७ जामा गाउँमा लगातार १० दिनसम्म लाग्ने केदारनाथ मेला सुरु भएको छ । केदारनाथमा पूजाआजासहित कार्तिक शुक्ल पञ्चमीदेखि चतुदर्शीसम्म मेला लाग्ने गर्छ ।

सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा हरेक वर्ष मनाइने देहिजाँत अर्थात् उग्रतारा मेला भने मंसिर १ मा लाग्ने भएको छ । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीका अनुसार हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउसेडी मेला लाग्दै आएको छ । यसवर्ष कात्तिक ३० मा रतेडी र मंसिर १ मा शनिबारका दिन दिउसेडी लाग्ने अध्यक्ष साँकीले बताए । डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा अमरगढी नगरपालिका-८ को सुन्दर डाँडामा अवस्थित उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेलामा हजारौं दर्शनार्थी पुग्ने गरेका छन् ।

चौलोले प्रख्यात रहेको सुदूरपश्चिमको प्रसिद्ध बडाल जाँत भने आज २७ गते हुने भएको छ । हिजो २६ गते राति रतेडी र आज २७ गते दिउसेडी मेला लाग्ने वडाध्यक्ष मनोज देउवाले बताए । लाटा गन्याप देवताको भक्ति स्वरुप मनाइने चौलोले प्रख्यात बडाल जाँतमा स्थानीय बाजागाजा, भोक्कर, देवलहरूका भाला, गुर्जा, खुकुरी र तरबार हातहातमा समातेर खेलिने भएकाले उक्त मेलाले सुदूरपश्चिममा प्रसिद्धि पाएको छ । यसवर्ष उग्रतारा र बडालको मेला हेर्नका लागि नेपाली कांग्रेसका सभपाति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पनि डडेल्धुरा पुगिसकेका छन् । देउवा डडेल्धुरा पुगेर मंसिर २ सम्म बस्ने कार्यक्रम रहेको नेपाली कांग्रेस डडेल्धुराले जनाएको छ ।

डडेल्धुराकै अजयमेरु गाउँपालिका ३ र ४ को मध्य भागमा लाग्ने जगन्नाथ मेला अर्थात् खोलेइ जात मंसिर ३ मा हुने भएको छ । मंसिर २ मा रतेडी र ३ गते दिसेडी हुने जगन्नाथ युवा क्लबका अध्यक्ष तारादत्त भट्टले जानकारी दिए । गुनपाल, चौडी, चिपुर र मड यी चारवटै गाउँबाट जगन्नाथ मन्दिरमा देउरो पुगेपछि मेला सुरु हुन्छ ।

उता बैतडीको तल्लो स्वराड क्षेत्रअन्तर्गत पर्ने शिवनाथ गाउँपालिका-६ शिवनाथ धुरामा मेला लागिसकेको छ । त्यहाँ हरेक वर्ष कात्तिक सप्तमीको राति अर्थात रतेडी र अष्टमीका दिन अर्थात दिउसेडी मेला लाग्ने गरेको छ ।

उता सुदूरपश्चिम प्रदेश प्रख्यात धार्मिक एवं पर्यटकीयस्थल बडीकेदार धाममा आज २७ देखि तीन दिन मेला लाग्ने भएको छ । डोटीको दक्षिणी क्षेत्रमा अवस्थित बडिकेदार गाउँपालिका र बोगटान फुड्सिल गाउँपालिकाको संगमको रूपमा रहेको बडीकेदार धाममा २७, २८ र २९ मा मेला लाग्ने भएको हो । कात्तिक २७ र २८ गते मेला लाग्ने र २९ गते पूजन कार्य हुने बडीकेदार क्षेत्र पर्यटन तथा व्यवस्थापन समितिकका कार्यकारी अधिकृत दिपेन्द्रराज सिराडीले बताए ।

यस्तै डोटीको आदर्श गाउँपालिका वडा नम्बर २ मौवामा अवस्थित प्रसिद्ध नमादेब मन्दिरमा कार्तिक चतुदर्शीका दिन २९ गते जाँत हुने भएको हो । कार्तिक २८ गते द्वादशीका दिन रतेडी र २९ गते त्रियोदशी\चतुदर्शीका दिन दिउँसेडी जाँत हुने बताइएको छ ।

Loading...