बैतडी : बैतडीमा देउरानीको हत्या गरेको आरोपमा जेठानीलाई पक्राउ गरिएको छ। डिलासैनी गाउँपालिका-२ छेपट्टा डुङरी बस्ने २३ वर्षीया देउरानी सुनीता बोहराको हत्या गरेको अभियोगमा ३० वर्षीया जेठानी दीपा बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।
सोमबार राति घरायसी विवाद भई झैझगडा हुँदा दीपाले दाउराको चिर्पट प्रहार गर्दा सुनीताको घटनास्थलमै मृत्यु भएको थियो । घटनाबारे खबर प्राप्त हुनासाथ प्रहरी चौकी सिमारबाट खटिएको प्रहरीले दीपालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
बोहरालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखेर अनुसन्धान भइरहेको उहाँले जानकारी दिए । घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
