धनगढीमा ९२ हजार बिरामीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा

धनगढी : कैलालीको धनगढीमा ९२ हजारको संख्यामा बिरामीलाई निःशुल्क विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । उपमहानगरपालिकाको ‘विशेषज्ञ चिकित्सकसहितको निःशुल्क वडा स्वास्थ्य क्लिनिक’बाट ९२ हजार २५३ जनालाई सो सेवा उपलब्ध गराइएको हो । उपमहानगरपालिकाले २०७९ साउन १ गतेबाट सुरु गरेको निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिकबाट १९ वटै वडाका नागरिकले स्वास्थ्य सेवा पाएका छन् ।

उपमहानगरपालिकाको तथ्याङ्क अनुसार हालसम्म ७१ हजार ८७८ महिला र २० हजार ३५७ पुरुषले यस्तो सेवा लिइसकेका छन् । हालससम्म ९ हजार १७७ बिरामीलाई थप उपचारका लागि रेफर समेत गरिएको छ । उपमहानगरले जनरल फिजिसियन, स्त्री तथा प्रसुती, आँखा रोग, दाँत, हाडजोर्नी, प्रयोगशाला, इसीजी, अल्ट्रासाउन्ड, गर्भ परिक्षण लगायत सेवा उपलब्ध गराउँदै आएको छ ।

उपमहानगरपालिकाले २०७९ साउन १ गतेबाट १९ वटै वडामा हरेक महिनाको एक दिन निःशुल्क विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक सञ्चालन गर्दै आएको छ । हालसम्म जनरल फिजिसियनबाट ३२ हजार ७७२ महिला र १२ हजार ८६१ महिला गरेर ४५ हजार ६३३ बिरामीले स्वास्थ्य उपचार सेवा लिइसकेका छन् ।

उपमहानगरपालिकाको घुम्ती शिविरबाट हालसम्म ६ हजार ४४८ महिला र २ हजार ६९३ पुरुष गरेर ९ हजार १७७ बिरामीलाई थप उपचारका लागि रेफर गरिएको छ । उपमहानगरले यस्तो क्लिनिक ग्रामीण क्षेत्रमा चलाउन प्राथमिकता दिएको छ । क्लिनिकमा ज्येष्ठ नागरिक र उपचारमा खर्च गर्न नसक्नेहरूले प्राथमिकता पाउने गरेका छन् ।

उपमहानगरपालिकाको प्रतिवेदनमा सात हजार चार सय एक जनाले प्रयोगशाला सेवा, चार हजार ८१६ ले इसीजी, १० हजार ४६२ ले भिडिओ एक्सरे, ९ हजार १६७ गर्भवती महिला र पाँच हजार ४३७ जना ७० वर्ष माथिकाले सेवा लिएका छन् ।

Loading...