सुदूरपश्चिममा उपनिर्वाचनका उमेदवारको उमेदवारी दर्ता

जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट काँग्रेसकी टीका र नाउपाबाट रुकमति उम्मेदवार

अत्तरिया : मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको लागि आज उम्मेदवारहरूको मनोनयन दर्ता भइरहेको छ । जसअनुसार उपनिर्वाचन हुने सुदूरपश्चिमका स्थानीय तहमा दलहरूले आ-आफ्नो उम्मेदवारको नाम टुङ्गो लगाइसकेका छन् । सुदुरपश्चिममा जिल्ला समन्वय समिति कैलाली प्रमुखसहित ६ पदको लागि निर्वाचन हुँदैछ । नेकपा एमालेले उम्मेदवार हुने व्यक्तिको नाम सार्वजनिक गरेको छ ।

एमालेले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि सुलोचना कुमारी भण्डारीको नाम टुङ्गो लगाएको छ । बझाङको सुर्मा गाउँपालिका-४ वडाध्यक्ष पदका लागि लखीचन्द बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष पदका लागि देवबहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि मानसिंह बडाल र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष पदका लागि नेकपा एमालेले बहादुर चन्दलाई उम्मेदवार बनाउने गरी नाम टुङ्गो लगाएको एमाले प्रदेश अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए ।

त्यस्तै, नेपाली काँग्रेसले पनि सबै उम्मेदवारको नाम सार्वजनिक गरी घरदैलो कार्यक्रमलाई अगाडि बढाएको छ । कांग्रेस प्रदेश प्रवक्ता सुरत रावतका अनुसार बाजुरा स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा पुल्तीसरा शाहीलाई उम्मेदवार बनाएको छ । बझाङको सुर्मा गाउँपालिका-४ वडाध्यक्ष पदका लागि वीरेन्द्र पुजारा, डोटीको पुर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष पदका लागि मोहन बहादुर थापा, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि धन बहादुर कुँवर र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष पदका लागि प्रकाश बहादुर चन्दलाई उम्मेदवार बनाएको छ ।

नेकपा माओवादी केन्द्रले पनि सबै उम्मेदवारको नाम टुङ्गो लगाएको छ । नेकपा माओवादी केन्द्रका प्रदेश सचिव जनक बुढाका अनुसार बाजुरा स्वामिकार्तिक गाउँपालिका उपाध्यक्षमा राजुकुमारी बिकलाई उम्मेदवार बनाएको छ । बझाङको सुर्मा गाउँपालिका-४ वडाध्यक्ष पदका लागि पुष्कर बहादुर बोहरा, डोटीको पुर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष पदका लागि देवीलाल थापा, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष पदका लागि वीर सिंह कार्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष पदका लागि नानाराम कोलीलाई उम्मेदवार बनाएको छ ।

त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवार सार्वजनिक गरेको छ । सुदूरपश्चिमको पहाडी जिल्ला पकड कम भएको नाउपाले पहाडी जिल्लामा उम्मेदवार बनाएको छ । नाउपा महासचिव गंगाराम चौधरीका अनुसार बझाङको सुर्मा गाउँपालिका-४ वडाध्यक्ष पदका लागि जेनिशा बोहरालाई उम्मेदवार बनाइएको छ भने कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष पदका लागि हरिष डगौरालाई उम्मेदवार बनाइएको छ ।

जिसस कैलाली प्रमुखका लागि सत्ता गठबन्धनबाट काँग्रेसकी टीका र नाउपाबाट रुकमति उम्मेदवार

कैलाली जिल्ला समन्वय समिति प्रमुखका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीका चौधरी भुलको उम्मेदवारी दर्ता भएको छ । टीका वर्तमान सत्ता गठबन्धनबाट काँग्रेस र एमालेकी साझा उम्मेदवार हुन् । उनी कैलारी गाउँपालिका २ का वडा सदस्य हुन् । उनको उम्मेदवारीको प्रस्तावक कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन् ।

त्यस्तै, नागरिक उनमुक्ति पार्टिले जिल्ला समन्वय समिति कैलाली प्रमुखमा रुकमति डंगौरा थारुलाई उम्मेदवार बनाएको छ । उनी टीकापुर नगरपालिका वडा नं ४ का महिला वडा सदस्य हुन् ।

कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ । १३ स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समितिमा कुल मतभार २६ छ  ।

कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार रहेको छ ।

Loading...