जिसस कैलालीमा सत्ता गठबन्धनबाट टीकाकुमारीको उमेदवारी दर्ता

नाउपाबाट रुकमतिको उमेदवारी दर्ता

धनगढी : कैलाली जिल्ला समन्वय समितिको प्रमुख पदका लागि सत्ता गठबन्धनबाट नेपाली काँग्रेसकी टीकाकुमारी चौधरी भुलको उम्मेदवारी दर्ता भएको छ । चौधरी कैलारी गाउँपालिका वडा नम्बर २ को महिला वडा सदस्य हुन् ।

कैलालीका समन्वय प्रमुख पदम कलेलको २०७९ पुस २३ मा निधन भएपछि समन्वय प्रमुखको पद रिक्त छ । समन्वय प्रमुखको उप-निर्वाचन मंसिर १६ गते हुँदैछ । टीकाकुमारी वर्तमान सत्ता गठबन्धनबाट काँग्रेस र एमालेको साझा उम्मेदवार हुन् ।

उनको उम्मेदवारीको प्रस्ताव कैलारी गाउँपालिकाका अध्यक्ष रामसमझ चौधरी तथा समर्थकमा धनगढीकी उपप्रमुख कन्दकलाकुमारी राना रहेकी छन् । कैलाली जिल्ला समन्वय समितिको निर्वाचनका लागि सत्ता गठबन्धनसँग कूल २६ मध्ये १३ मत रहेको छ ।

टीकाकुमारीको पक्षमा काँग्रेससँग ८ र एमालेसँग ५ मत छ । एमालेबाट चुरे गाउँपालिकाका अध्यक्ष, गोदावरी नगरपालिकाका उपप्रमुख, वर्दगोरिया गाउँपालिकाका अध्यक्ष, लम्कीचुहाका उपप्रमुख र धनगढीका उपप्रमुखको मत सत्ता गठबन्धन उम्मेदवारको पक्षमा हुनेछ ।

यस्तै, काँग्रेसबाट मोहन्यालका उपाध्यक्ष, लम्कीचुहाका नगर प्रमुख, चुरेका उपाध्यक्ष, घोडाघोडीका उपप्रमुख, गौरीगङ्गाका उपप्रमुख, गोदावरीका प्रमुख तथा कैलारी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको मत छ । सत्ता गठबन्धनको उम्मेदवारलाई निर्वाचित गराउन नेपाली काँग्रेस कैलाली जिल्ला कार्यसमितिका सभापति नारायणदत्त भट्ट र एमालेका कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले संयुक्त रुपमा अपिल गरेका छन् ।

त्यस्तै, नागरिक उनमुक्ति पार्टिले जिल्ला समन्वय समिति कैलाली प्रमुखमा रुकमति डंगौरा थारुलाई उम्मेदवार बनाएको छ । उनी टीकापुर नगरपालिका वडा नं ४ का महिला वडा सदस्य हुन् ।

१३ स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समितिमा कुल मतभार २६ छ  । कांग्रेससँग ८, नागरिक उन्मुक्ति पार्टीसँग ७, एमालेसँग ५, माओवादीसँग ४, नेकपा एकीकृत समाजवादीसँग १ र स्वतन्त्र १ गरी २६ मतभार रहेको छ ।

Loading...