आज स्थानीय तहको उपनिर्वाचन, सुदूरपश्चिमा ५ पदका लागि मतदान हुँदै

अत्तरिया : आज पालिकामा रिक्त देशका विभिन्न ४१ पदका लागि उपनिर्वाचन हुँदैछ । यता सुदूरपश्चिममा भने ५ पदका लागि मतदान हुँदैछ । बझाङ, बाजुरा, डोटी, दार्चुला र कञ्चनपुरका ५ स्थानीय तहमा आज उपनिर्वाचन अन्तरगत मतदान हुन लागेको हो । सुदूरपश्चिममा एक उपाध्यक्ष र चार वडाअध्यक्ष गरी ५ पदका लागि मतदान हुँदैछ ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष, बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष, डोटीको पूर्वीचौकी गाउँपालिका-३ को वडाध्यक्ष, दार्चुलाको दुहुँ गाउँपालिका-५ को वडाध्यक्ष र कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षका लागि उपनिर्वाचन भइरहेको छ । उपनिर्वाचन हुन लागेका पाँचवटै ठाउँमा २२ वटा मतदान केन्द्र र १० वटा मतदान स्थल तोकिएका छन् भने २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा होमिएका छन् ।

जिल्ला समन्वय समिति कैलालीको संयोजकमा भने नेपाली काँग्रेसकी टीका चौधरी भुल निर्विरोध निर्वाचित भइसकेकी छन् ।

देशभर उपनिर्वाचन हुने ४४ पदमध्ये रुकुममा एक वडाध्यक्ष, ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समितिको सभापतिमा निर्विरोध भएसँगै अब ४१ स्थानमा मात्रै निर्वाचन हुँदैछ । निर्वाचन आयोगले आज बिहान ७ बजे देखि साँझ ५ बजेसम्म मतदान हुने र निर्वाचन हुने वडामा मतदाता नामावलीमा आफ्नो नाम समावेश भएको मतदान केन्द्रमा उपस्थित भई रोजेको उम्मेदवारको निर्वाचन चिन्हमा निर्धक्क भई मतदान गर्न सम्पूर्ण मतदातालाई आग्रह गरेको छ ।

मतदातालाई मताधिकारको उपयोग गर्न सहजता प्रदान गर्ने अभिप्रायले मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, स्थायी लेखा नम्बरको परिचयपत्र वा सवारी चालक अनुमतिपत्रको सक्कल प्रमाणपत्रका आधारमा मतदान गर्नसक्ने व्यवस्था मिलाइएको आयोगले स्पष्ट पारेको छ तर त्यस्ता मतदाताको आयोगबाट प्रकाशन भएको अन्तिम मतदाता नामावलीमा नाम भने समावेश भएको हुनुपर्नेछ ।

निर्वाचन सुरक्षामा असर नपर्नेगरी मतदाताको सहजताका लागि मतदानस्थलको निश्चित क्षेत्रबाहेक यातायात सञ्चालनको उपयुक्त प्रबन्ध गर्न गृह मन्त्रालयमार्फत सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन भइसकेको आयोगको भनाइ छ । आयोगले मतदानमा अवाञ्छनीय प्रभाव पार्ने वा पार्न प्रयत्न गर्ने कार्य भए गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गरी मतदान कार्यलाई निर्बाध रूपमा सम्पन्न गर्न सम्बद्ध निकायहरूलाई निर्देशनसमेत दिएको छ ।
सुदूरपश्चिममा पाँच पदका लागि २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा
बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पदका लागि हुने निर्वाचनमा मतदाता संख्या ७ हजार ६० छन् । सो गाउँपालिकाको उपाध्यक्ष पदका लागि तीन जना महिला उम्मेदवार छन् । वडा अध्यक्षका लागि तीन जना स्वतन्त्र उम्मेदवार छन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट पुल्तीसरा शाही, एकीकृत समाजवादीबाट जवा शाही, एमालेबाट सुलोचनाकुमारी भण्डारी उम्मेदवार छन् ।

यस्तै बझाङको सुर्मा गाउँपालिका-४ मा पनि वडाअध्यक्षको पद रिक्त छ । सो पदका लागि एमालेबाट लखीचन्द्र बोहरा, कांग्रेसबाट धिरेन्द्र पुजारा र माओवादी केन्द्रबाट पुस्करबहादुर बोहरा गरी तीन जना उम्मेदवार छन् । यस्तै डोटीको पुर्वीचौकी गाउँपालिका-६ मा पनि वडाअध्यक्ष पद रिक्त छ । रिक्त पदमा चुनाव लड्न एमालेबाट देवबहादुर थापा, कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट देवीलाल थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकीकुमारी खड्का गरेर चार उम्मेदवार छन् ।

उता दार्चुलाको दुहुँ गाउँपालिका-५ मा वडाअध्यक्ष पद रिक्त छ । रिक्त पदमा निर्वाचन लड्न एमालेबाट मानसिंह बडाल, कांग्रेसबाट धनसिंह कुँवर, माओवादीबाट विरसिंह कार्की र स्वतन्त्रबाट लालबहादुर कुँवर गरी चार जना उम्मेदवार छन् ।

यता कञ्चनपुरको भीमदत्त नगरपालिका-६ मा पनि वडाअध्यक्ष पद रिक्त छ । सो पदका लागि सबैभन्दा बढी १२ जना उम्मेदवार छन् । एमालेबाट बहादुर चन्द, कांग्रेसबाट प्रकाश चन्द, माओवादीबाट नानाराम कोली, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रामदत्त भट्ट, राप्रपाबाट शुशिलकुमार भट्ट, जनमत पार्टीबाट यादवबहादुर चन्द, एकीकृत समाजवादीबाट जितेन्द्रबहादुर चन्द, नागरिक उन्मुक्ति पार्टीबाट हरिष डगौरा, नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा, राप्रपा नेपालबाट दिलबहादुर धामी, स्वतन्त्रबाट युवराज चन्द र स्वतन्त्रबाटै थानेश्वर लेखक उम्मेदवार हुन् ।

Loading...