धनगढी : नेपाल प्रिमियर लिग (एनपिएल)को टोली सुदूरपश्चिम रोयल्सलाई ग्लोबल आईएमई बैंक लिमिटेडले मुख्य प्रायोजन गर्ने भएको छ । काठमाण्डौमा शनिबार सुदूरपश्चिम रोयल्स र ग्लोबल आईएमई बैंकबीच सम्झौता भएको हो ।
बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल र सुदूरपश्चिम रोयल्सका तर्फबाट अध्यक्ष स्वतन्त्र प्रताप शाहले सम्झौतामा हस्ताक्षर गरे । शाहले रोयल्सको एनपिएल यात्रामा सहकार्य गर्न साथ जोडिएकोमा ग्लोबल आईएमई बैंकलाई धन्यवाद व्यक्त गरे । ग्लोबल आईएमई बैंकका डेपुटी सिइओ पोखरेलले सुदूरपश्चिमसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । बैंकले खेलकुदलाई अझ उचाइमा पु¥याउन आफ्नो दायित्व बुझेर सम्झौता गरी मुख्य प्रायोजन गरेको उनले बताए ।
सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, ग्याजेट पार्टनरमा एक्स एज, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एयरलाइन्स पार्टनरमा नेपाल एयरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरका रूपमा भित्र्याएको थियो । एनपीएलको अवधिभर टोलीले म्यारियट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।
सुदूरपश्चिमको मार्की खेलाडीमा कीर्तिमानी अलराउन्डर दीपेन्द्रसिंह ऐरी छन् । मेन्टरमा अष्ट्रेलियाका ब्राड हज र मुख्य प्रशिक्षक राष्ट्रिय टोलीका पूर्वप्रशिक्षक जगत टमाटा छन् ।
नेपाल क्रिकेट सङ्घको आयोजनामा आठ वटा टोली रहेको प्रतियोगिता हिजोदेखि शुरु भएको छ । सुदूरपश्चिमले १८ मंसिरमा पहिलो खेल विराटनगर किंग्ससँग खेल्नेछ ।
