काठमाडौं : आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ‘एड्स अन्त्यका लागि सबैको अधिकार सुनिश्चित गरौँ’ भन्ने नाराका साथ ३७औँ विश्व एड्स दिवस मनाइँदैछ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रको अगुवाइमा चेतनामूलक कार्यक्रम आयोजना गरी यो दिवस मनाउन लागिएको हो ।
केन्द्रका निर्देशक डा.सर्वेश शर्माका अनुसार मुलुकमा सन् २०२३ सम्ममा एचआइभी सङ्क्रमण ९१ प्रतिशतले घटेको छ । सन् २०१० यता विश्वमा एचआईभी सङ्क्रमण ३९ प्रतिशतले घटेको छ । यसैगरी एड्सबाट मृत्युवरण गर्नेको सङ्ख्या आधाले घटेको छ ।
अफगानिस्तान, इजिप्ट, फिजी, फिलिपिन्स, पपुवान्यूगिनी र साउदी अरबमा भने सन् २०१० देखि २०२३ को बीचमा एचआईभी सङ्क्रमणमा शतप्रतिशतले वृद्धि भएको छ । एचआइभी सङ्क्रमण ७५ प्रतिशतले घटाउने देशमध्येमा हाम्रो मुलुक पनि एक हो । यस्तै सफलता केन्या, मलावी र जिम्बावेले हासिल गरेका केन्द्रले जनाएको छ ।
केन्द्रका निर्देशक डा. शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमित कम भइरहेको बताए । सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याएकोले सर्न कम भएर घटेको उनको भनाइ छ । उनका अनुसार अहिले देखिएका सङ्क्रतिमध्ये ८७ प्रतिशतले औषधि खाइरहेका छन् ।
औषधि सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको छ । सन् २०२३ सम्म नेपालमा ३० हजार ३०० व्यक्ति एचआइभी सङक्रमित रहेका छन् । केन्द्रका निर्देशक डा. शर्माले अझै झन्डै करिब पाँच हजार सङ्क्रमित उपचारभन्दा बाहिर रहेका र ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयास भइरहेको बताए । उनले एचआइभी सङक्रमितमाथि अझै समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताए ।
नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशिने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमणदर अरू जोखिम समूहभन्दा उच्च रहेको छ ।
अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ ।