अत्तरिया : कैलालीको गोदावरी नगरपालिकामा यहि मंसिर १८ गतेदेखि १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने भएको छ । गोदावरी नगरपालिकाको आयोजनामा गर्न लागिएको प्रतियोगिताका बारेमा आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
प्रतियोगिता वडा नम्बर ८ स्थित जमुना नगरमा रहेको दुर्गा भवानी माविमा हुने भएको छ । प्रतियोगितामा २२ वटा सामुदायीक र २३ वटा संस्थागत गरि ४५ वटा विद्यालय सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशन समितिका संयोजक शिवराज भट्टराईले जानकारी दिए ।
प्रतियोगिता अन्तरगत ६ विधामा खेल खेलाइने जनाइएको छ । जसमा मार्सलाटका ३ विधा, एथलेटिक्स, भलिबल र कबड्डी खेलाइने खेल संयोजक भट्टराईले बताए । मंसिर २१ गते सम्म सञ्चालन हुने प्रतियोगिताको आयोजक विद्यालयका रुपमा गोदावरी नगरपालिका ७ हरैयामा रहेको दुर्गा भवानी मावि रहेको छ ।
प्रतियोगिता अन्तरगतका ५ विधाका खेल दुर्गा भवानीको प्राङ्गणमा हुने विद्यालयका प्रधानाध्यापक कृष्ण राज पाठकले बताए । उनले एथलेटिक्सका खेल भने स्याउलेमा रहेको सैपाल युवा क्लबको खेल मैदानमा हुने बताए । प्रतियोगिता सञ्चालनका लागि १२ लाख रुपैयाँ बजेट छुट्टयाईएको बताईएको छ । प्रतियोगिताको संम्पुर्ण तयारी पुरा भएको आयोजक गोदावरी नगरपालिकाले जनाएको छ । प्रतियोगिताको उद्घाटन १८ गते (मंगलबार) बिहान ९ बजे नगर प्रमुख विरेन्द्र भट्टले गर्ने कार्यक्रम रहेको जनाईएको छ ।
यस्तै नगरपालिकाले नगर स्तरीय अतिरिक्त क्रियाकलाप पनि आयोजना गर्ने बताएको छ । यस्तै छुट्टै नगर स्तरीय अतिरिक्त क्रियाकलाप अन्तरगत कक्षा १ देखि ८ कक्षा सम्मका विद्यार्थी सहभागी हुने गरी ८ विधामा प्रतियोगिता सञ्चालन गरिने शिक्षा,युवा तथा खेलकुद शाखाका अधिकृत विष्णु अवस्थीले बताए ।
उनले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा ८ कक्षा मुनिका छात्र छात्रा कम सहभागी हुने अवसर पाउने भएकाले सँगसँगै नगर स्तरीय प्रतियोगिता पनि आयोजना गरिएको बताए । जसमा कक्षा १ देखि ३ सम्मका छात्र छात्राहरूका लागि १ सय मिटरको अण्डा दौड, कक्षा ४ र ५ का छात्र छात्राका लागि एक सय मिटर दौड र चित्रमा रङ्ग भर्ने प्रतियोगिता राखिएको शिक्षा शाखा अधिकृत अवस्थीले बताए । उनले कक्षा ६ देखि ८ को छात्र छात्रा १ सय दौड प्रतियोगिता र आइक्यु टेस्ट प्रतियोगिता राखिएको बताए ।
