धनगढी : सुदूरपश्चिम महोत्सव आजदेखि सुरु हुँदैछ । आजदेखि सुरु हुने १८औँ संस्करणको सुदूरपश्चिम महोत्सवको तयारी पुरा भएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कैलाली उद्योग बाणिज्य सघंका महासचिव ओम बिष्टले बताए ।
धनगढी उपमहानगरपालिका-१ पशुपति टोलमा हुने महोत्वस पुस २ गतेसम्म सञ्चालन हुनेछ । कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्टोनिकल, होटल र सूचना प्रविधि गरी ५३१ वटा स्टल रहने संघका अध्यक्ष पुष्पराज कुँवरले बताए ।
संघले महोत्वसमा उद्योगी व्यवसायको १५ करोड बराबरको कारोबार हुने अनुमान गरेको छ। महोत्सव उत्कृष्ट रूपमा सम्पन्न गर्न ३ करोड लाग्ने बताइएको छ। यस वर्षको महोत्सवमा करिब पाँच लाख व्यक्तिले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
ज्येष्ठ नागरिक र फरक क्षमता भएकालाई महोत्सव प्रवेश निःशुल्क गरिएको छ। महोत्सव अवलोकनका लागि विद्यार्थीलाई ५० र सर्वसाधारणलाई एक सय रुपैयाँ टिकट तोकिएको छ । सुदूरपश्चिम महोत्सवबाट संकलन भएको रकमबाट तीन लाख रकम एनपीएलमा सहभागी सुदूरपश्चिम रोयल्स टीमलाई दिने बताएको छ ।
सुदुरपश्चिम महोत्सवमा हेली टुर प्याकेज: खप्तड-बडिमालिकाको अवलोकन गराइने
सुदूरपश्चिम महोत्सवको क्रममा हेलिकोप्टरबाट धार्मिक र पर्यटकीय क्षेत्रको अवलोकन गराइने भएको छ । कैलाली, कञ्चनपुरको धार्मिक क्षेत्र र खप्तड, रामारोशन, बडिमालिका लगायतको अवलोकन गराउने गरी हेलि टुरको व्यवस्था गर्न थालिएको हो । महोत्सवमा हेलि टुर सेवा सञ्चालनका लागि तयारी भइरहेको कैलाली उद्योग बाणिज्य सघंका सल्लाहकार मायाप्रकाश भट्टले जानकारी दिए । उनले कैलाली, कञ्चनपुरमा रहेको विभिन्न धार्मिक स्थलको अवलोकन गराउने गरी सिटी टुर हेलि सेवा र खप्तड, रामारोशन, बडिमालिकाका लागि हेलि टुर सेवा सञ्चालन गरिने बताए । व्यापार, कृषि, उद्योग, पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ सघंले हरेक वर्ष सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ ।
