सुदूरपश्चिमका ११ जना चेम्बरद्धारा सम्मानित

अत्तरिया : कैलालीको अत्तरियामा चेम्बरद्धारा सुदूरपश्चिमका ११ जना व्यवसायी सम्मानित भएका छन् । चेम्बर अफ कमर्स सुदूरपश्चिम, कैलाली र गोदावरीले संयुक्त रुपमा आयोजना गरेको व्यवसायीलाई सम्मान तथा उत्प्रेरणा कार्यक्रममा सुदूरपश्चिमका ११ जना व्यवसायीलाई सम्मान गरिएको हो ।

नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लको सभापतित्वमा आयोजित सम्मान कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथी रहेका थिए ।

स्थानीय उत्पादन गर्ने ५ जना, कैलालीबाट धेरै कर तिर्ने ३ जना र पर्यटन क्षेत्रमा डिजिटल माध्यमबाट प्रचार प्रसार गर्ने ३ जना रहेका छन् ।

Dhangadhi_Tihar 2083

स्थानीय उत्पादन विधाबाट सम्मानित हुनेमा बेलौरी तोरी तेल उद्योगका खडक शाह, लटिनाथ कपडा उद्योगका सञ्चालक जगत बहादुर सिंह, आरडी अल्लो बाँस ऊन बुनाई उद्योगका सञ्चालक रुकुम सिंह धामी, गोदावरी आविष्कार केन्द्रका किरण भट्ट र कञ्चनपुरको शुक्लाफाँटामा हस्तकलाको काम गर्दै आएका भक्त बहादुर महरा रहेका छन् ।

त्यस्तै सुदूरपश्चिमका पर्यटकिय क्षेत्रलाई चिनाउन फोटो, भिडियोको माध्यमबाट प्रचार प्रसार गर्दै आएका दार्चुलाका हिमालयन भट्ट (फेरुवा युट्युब च्यानल), रोहित रोक्का (वाइल्ड बाजुरा युट्युब फेसबुक पेज) र साइकल यात्री भरत विक्रम शाही सम्मानित भएका छन् ।

कैलाली जिल्लाबाट धेरै कर तिर्ने ३ जना उद्यमीमा नास्ट कलेजका शिवहरी मुडभरी, ठाकुर एग्रो इन्डष्ट्रिजका हरि शंकर ठाकुर र भागेश्वरी फ्लोर मिलका सञ्चालक लाल बहादुर बोगटी रहेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग,पर्यटन वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी, नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्ल लगायत, कर कार्यालयका कर्मचारी, व्यवसायी, बिद्यार्थीहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सञ्चालन पत्रकार गोविन्द रोस्याराले गरेका थिए ।

Loading...