अत्तरिया : कैलालीको गोदावरीमा वडास्तरीय तेस्रो अतिरिक्त क्रियाकलाप प्रतियोगिता सुरु भएको छ । मंगलबारदेखी गोदावरी-४ मा बुढीतोलाको लक्ष्मी माविमा वडाको सहयोग र लक्ष्मी माविको आयोजनामा उक्त प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा १० ओटा विद्यालयका विद्यार्थीहरूको सहभागी रहेको लक्ष्मी माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रविन्द्र रोकामगरले बताए । उनले प्रतियोगितामा १५ प्रकारका खेल हुने र उक्त प्रतियोगिता पठनपाठनसँगै विद्यार्थीहरूको मानसिक र शारीरिक क्षमता विकास गर्न महत्वपूर्ण भएको बताए ।
गोदावरी नगरपालिकाले प्रत्येक वर्ष फरक-फरक विद्यालयमा वडास्तरीय प्रतियोगिता आयोजना गर्दै आएको छ । यस पटकको प्रतियोगिता गोदावरी-४ बुढीतोला स्थित लक्ष्मी माविमा मंगलबार सुरु भएको प्रतियोगिता दुई दिन सम्म चल्ने बताईएको छ ।
प्रतियोगिताले विद्यार्थीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर मात्र नभई, शैक्षिक र अतिरिक्त गतिविधिमा सामंजस्य स्थापित गर्न सहयोग पु-याउने विश्वास गरिएको छ ।
उद्घाटन कार्यक्रममा वडा अध्यक्ष हेम प्रकाश मल्ल, योजना आयोगका पूर्व सदस्य विजय कुँवर, शिक्षा समिति सदस्य भिम बहादुर बलायर, वडा सदस्य शेर बहादुर घर्ति मगर, वडाका बिभिन्न बिद्यालयका बिद्यालय व्यवस्थापन समिति अध्यक्ष, प्रधानाध्यापक, शिक्षक, बिद्यार्थी लगायतको उपस्थित रहेको थियो ।
