अत्तरिया : नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा भरत शाह निर्वाचित भएका छन् । मीन बमलाई २४५ मतान्तरले पराजित गर्दै अध्यक्षमा शाह निर्वाचित भएका हुन् । अध्यक्षमा शाहले ४३७ मत ल्याउदा उनका प्रतिद्धन्द्धी बमले १९२ मत ल्याएका छन । प्रेस युनियनबाट उम्मेदवार बनेका शाहविरुद्ध बम बागी उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका थिए ।
त्यस्तै उपाध्यक्षसहितका अन्य पदमा पनि शाहकै प्यानलका उम्मेदवार विजयी भएका छन् । उपाध्यक्षमा डडेल्धुराका राम धामीलाई पराजित गर्दै डडेल्धुराकै मानबहादुर साउद निर्वाचित हुँदा महिला उपाध्यक्षमा कैलालीकी कालीमैंया चौधरी (उन्नती) लाई पराजित गर्दै कञ्चनपुरकी हेमन्ती डगौरा चौधरी निर्वाचित भएकी छन् । धामीले २८० मत पाउँदा साउदले ३३३ मत पाएका थिए । महिला उपाध्यक्षमा कालीमैंयाले २६१ मत पाउँदा हेमन्तीले ३३६ मत पाइन् ।
महासचिवमा कैलालीका हरि जोशीलाई ८० मतान्तरले पराजित गर्दै कैलालीकै शिवराज भट्ट निर्वाचित भए । जोशीले २६८ मत पाउँदा भट्टले ३४८ मत ल्याए । सचिवमा अछामका धनराज साउदले डडेल्धुराका भुवनेश्वरप्रसाद बोहरालाई पराजित गरे । साउदले ३९६ मत पाउँदा बोहराले १७३ मत पाए ।

समावेशी सचिवमा कैलालीका मुकेश टेर्रालाई पराजित गर्दै कैलालीकी इन्द्राकुमारी केसी (इन्दु) निर्वाचित भइन् । टेर्राले २३० मत पाउँदा केसीले ३५५ मत ल्याइन् । कोषाध्यक्षमा कैलालीका हरिश विकलाई पराजित गर्दै डडेल्धुराका वरुण पनेरु निर्वाचित भए । विकले २१९ मत पाउँदा पनेरुले ३७६ मत ल्याए ।
यस्तै सदस्यमा अर्जुनबहादुर सिंह ४२४ मत, केशवदत्त भट्ट ४२८ मत, कृतबहादुर बिष्ट ४२१ मत, दिनेशबहादुर कठायत ३५४ मत र रमेश कुमार केसी ३२३ मतका साथ विजयी भएका छन ।
यसअघि समितिको महिला सदस्यमा दुर्गा देवकोटा, भुवनेश्वरी कुमारी शाही, सन्तोषी रावल, दलित सदस्यमा प्रदिप मलासी, आदिवासी जनजाती सदस्यमा छविलाल चौधरी, सागर कुश्मी, भीमबहादुर चौधरी र अल्पसंख्यक/ अपाङ्गताबाट नहकुलदेव जिसी निर्विरोध निर्वाचित भएका थिए ।
