पत्रकार महासंघ कैलालीको टोली जिल्लाका पत्रकार भेटघाटमा

अत्तरिया : नेपाल पत्रकार महासंघ कैलालीको नवनिर्वाचित टोलीले जिल्लाका पत्रकारहरूसँग भेटघाट गरेको छ । महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायत सम्पूर्ण पदाधिकारीहरूको टोलीले जिल्लाका विभिन्न क्षेत्रहरूमा पुगेर  मिडियामा आवद्ध पत्रकारहरूसँग भेटघाट गरेको हो ।

अत्तरिया, टिकापुर, लम्की, बौनिया, सुखड, पहलमानपुर, मसुरिया लगायतका क्षेत्रहरूमा पुगेको महासंघको टोलीलाई उक्त क्षेत्रका पत्रकारहरूहरुले बधाई दिँदै स्वागत गरेका थिए ।

महासंघको टोलीलाई स्वागत गर्दै पत्रकारहरुले नवनिर्वाचित महासंघको टोलीले निष्पक्ष पत्रकारहरूको संस्थाका रूपमा विकास गर्ने विश्वास लिएको बताए । महासंघभित्रको राजनीतिका कारण बिभिन्न मिडियामा आवद्ध क्रियासिल धेरै पत्रकारहरुले हालसम्म सदस्यता पाउन नसकेको बताउँदै, आगामी दिनमा पत्रकारितामा संलग्न पत्रकारहरूले सहज रूपमा सदस्यता पाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् । पछिल्लो परिस्थितिमा पत्रकारिता परिवर्तनको क्रममा रहेकोले पत्रकारिताको क्षेत्रलाई पनि सोही अनुसार बदल्न आवश्यक रहेको सुझाव दिदै श्रमजीवी पत्रकारहरूको हक-अधिकारका विषयमा महासंघ दृढ रूपमा उत्रिनुपर्ने बताएका छन् ।

पत्रकारहरूसँगको भेटघाटका क्रममा बोल्दै महासंघ कैलालीका नवनिर्वाचित अध्यक्ष श्रवण देउवाले आफूलाई जिल्लाको नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा आभार व्यक्त गरे । उनले पत्रकारहरूको हक-हितमा अग्रपंक्तिमा रहेर काम गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष देउवाले महासंघलाई राजनीति गर्ने थलो नभई पत्रकारहरूको साझा संस्थाका रूपमा विकास गर्ने गरी कार्य गर्ने बताए ।

Deep Jyoti Pustak psl
Loading...