बाजुरा : बाजुरा केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । जगन्नाथ गाउँपालिका-५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको छ ।
भूकम्पले केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ । वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको हुन सक्ने जानकारी दिए । भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको उनको भनाइ छ ।
बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै मानवीय क्षति भएकोबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको बताए । उनले भूकम्पको केन्द्रबिन्दु गोत्री क्षेत्रसहित अरु ठाउँको अवस्था बुझ्न सुरक्षाकर्मीलाई खटाउने तयारी भइरहेको जानकारी दिए ।